काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाग्लुङ जिल्ला कार्यसमिति सदस्य तथा प्रतिनिधिसभा समानुपातिक उम्मेदवार (२०८२) टेकबहादुर पुनले वर्तमान सरकारको पहिलो १०० दिनको कार्यसम्पादनबारे आफ्नो धारणा सार्वजनिक गर्दै विगतका सरकारहरूको तुलनामा शासकीय शैलीमा सकारात्मक परिवर्तन देखिएको बताएका छन्।
पुनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणामा विगतका सरकारहरूमा सरकार गठनपछिको पहिलो १०० दिनलाई प्रायः “हनिमुन अवधि” का रूपमा लिने गरिएको स्मरण गर्दै त्यसबेला अधिकांश मन्त्री तथा प्रधानमन्त्री उद्घाटन, शिलान्यास, रिबन काट्ने तथा औपचारिक कार्यक्रममा बढी केन्द्रित हुने गरेको उल्लेख गरेका छन्। उनका अनुसार अहिलेको सरकारले भने त्यस परम्पराबाट केही हदसम्म फरक ढंगले काम गर्ने प्रयास गरेको देखिएको छ।
उनले सरकारका सबै निर्णय र काम शतप्रतिशत सही छन् भन्ने आफ्नो अभिप्राय नभएको स्पष्ट पार्दै केही विरोधाभासपूर्ण तथा सुधार गर्नुपर्ने विषयहरू अझै रहेको स्वीकार गरेका छन्। यस्ता कमजोरीलाई सरकारले पनि आत्मसात गर्दै क्रमशः सुधार गर्ने प्रयास गरिरहेको अवस्था देखिएको उनको भनाइ छ।
पुनका अनुसार सरकार गठन भएको १०० दिनको अवधिमै कम्तीमा पनि शासकीय कार्यशैलीमा परिवर्तनको अनुभूति नागरिकले गर्न थालेका छन्। विशेषगरी सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणतर्फ सरकार दृढताका साथ अघि बढिरहेको उनको दाबी छ। साथै विकास निर्माणका काममा पनि सरकारको सक्रियता र गम्भीरता बढेको उनले उल्लेख गरेका छन्।
उनले लोकतान्त्रिक व्यवस्थामा असहमति, आलोचना र फरक विचारलाई स्वाभाविक र आवश्यक पक्षका रूपमा व्याख्या गर्दै आलोचना तथ्य, तर्क र जिम्मेवारीका आधारमा हुनुपर्ने बताएका छन्। “केवल विरोधका लागि विरोध गर्नु लोकतान्त्रिक संस्कृतिको मर्मअनुकूल हुँदैन,” उनले भनेका छन्।
पुनले जहाँ सरकारका कमजोरी छन् त्यहाँ रचनात्मक सुझाव दिनुपर्ने र जहाँ सकारात्मक काम भएका छन् त्यहाँ निष्पक्ष रूपमा प्रशंसा गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। सरकारलाई सही मार्गमा अघि बढाउन आलोचना र प्रशंसा दुवै समान रूपमा आवश्यक रहेको उनको भनाइ छ।
अन्त्यमा उनले सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकलाई पूर्वाग्रहभन्दा माथि उठेर देश र जनताको हितलाई केन्द्रमा राखी वस्तुनिष्ठ मूल्याङ्कन गर्न आग्रह गर्दै लोकतन्त्रलाई थप सुदृढ बनाउन सबै पक्षको रचनात्मक सहकार्य अपरिहार्य रहेको बताएका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend