सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल खाद्य किराना व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ, यस्तो छ नयाँ कार्यसमिति

नेपाल खाद्य किराना व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ, यस्तो छ नयाँ कार्यसमिति

काठमाडौं । नेपाल खाद्य किराना व्यवसायी संघले नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि देवेन्द्र भक्त श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको छ। शनिबार काठमाडौंमा सम्पन्न संघको वार्षिक समारोह तथा अधिवेशनले व्यवसायीहरूको साझा हित, उपभोक्तालाई गुणस्तरीय खाद्य सामग्रीको सहज उपलब्धता तथा खाद्य आपूर्ति प्रणालीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धतासहित नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो।
सम्पूर्ण व्यवसायीको एकता, देशभर खाद्यको आवश्यकता भन्ने मूल नाराका साथ सम्पन्न अधिवेशनमा देशभरका खाद्य तथा किराना व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा व्यवसायीहरूबीचको सहकार्यलाई अझ बलियो बनाउँदै व्यवसायमैत्री वातावरण सिर्जना गर्न संघले आगामी दिनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

नवनिर्वाचित अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठले खाद्य तथा किराना व्यवसायीहरूले भोगिरहेका समस्या समाधानका लागि सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्ने बताए। उनले व्यवसायीहरूको हकहित संरक्षणसँगै उपभोक्ताले गुणस्तरीय खाद्य सामग्री सहज रूपमा प्राप्त गर्ने वातावरण निर्माण गर्नु संघको प्रमुख प्राथमिकता रहने स्पष्ट पारे।

श्रेष्ठले देशभर छरिएर रहेका खाद्य तथा किराना व्यवसायीलाई एउटै साझा मञ्चमा आबद्ध गर्दै व्यावसायिक एकतालाई थप मजबुत बनाउने, व्यवसायलाई आधुनिक र व्यवस्थित बनाउने तथा सरकारसँग सहकार्य गर्दै खाद्य वितरण प्रणालीलाई प्रभावकारी बनाउन संघले निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

अधिवेशनबाट उपाध्यक्षमा टंक प्रसाद शेरचन, महासचिवमा ओम प्रकाश बंसल, सचिवमा दीपक कुमार फैजू, कोषाध्यक्षमा नरेश कुमार गोयल तथा सह–कोषाध्यक्षमा मनोज कुमार गुप्ता सर्वसम्मत चयन भएका छन्।

त्यस्तै कार्यसमितिका सदस्यहरूमा पवन कुमार अग्रवाल, राजेश कुमार हरिलालका, पवन कुमार कलवार, रवि कुमार गुप्ता र गौरव सिंघानिया निर्वाचित भएका छन्।

नवनिर्वाचित कार्यसमितिले व्यवसायीहरूको अधिकार संरक्षण, खाद्य क्षेत्रका नीतिगत सुधारका लागि पहल तथा देशभर सुरक्षित, गुणस्तरीय र सहज खाद्य आपूर्ति सुनिश्चित गर्ने उद्देश्यका साथ आगामी कार्ययोजना अघि बढाउने जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend