सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पेट्रोलियमको मूल्य घटेपछि स्वचालित यातायात भाडा समायोजन गर्न महासचिव नेपालको माग

पेट्रोलियमको मूल्य घटेपछि स्वचालित यातायात भाडा समायोजन गर्न महासचिव नेपालको माग

काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्वचालित प्रणालीअनुसार सार्वजनिक यातायातको भाडा पनि तत्काल समायोजन गर्न संघीय सरकार र प्रदेश सरकारसँग आग्रह गरेका छन्।

महासचिव नेपालले एक विज्ञप्तिमार्फत पेट्रोलियम पदार्थको मूल्यमा भएको परिवर्तनको तथ्यांकका आधारमा औसत ३५ प्रतिशत मूल्य समायोजन हुने व्यवस्था रहेकाले सोही मापदण्डअनुसार सार्वजनिक यातायातको भाडा पनि स्वचालित रूपमा पुनःनिर्धारण गरिनुपर्ने बताएका हुन्।

उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा भाडा समायोजन गरिने व्यवस्था रहेकाले मूल्य घटेका बेला पनि सोही कानुनी व्यवस्था र मापदण्डअनुसार भाडा समायोजन हुनुपर्नेमा जोड दिएका छन्। मूल्य समायोजनलाई एकपक्षीय रूपमा लागू नगरी पारदर्शी र स्वचालित प्रणालीअनुसार कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ।

नेपालले यात्रु र यातायात व्यवसायी दुवै पक्षको हितलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य परिवर्तनसँगै स्वचालित भाडा समायोजनको व्यवस्था प्रभावकारी रूपमा लागू गर्न आवश्यक रहेको उल्लेख गरेका छन्। उनले सम्बन्धित निकायले उपलब्ध तथ्यांकका आधारमा तत्काल भाडा पुनरावलोकन गरी लागू गर्न संघीय तथा प्रदेश सरकारसँग अनुरोध गरेका छन्।

सार्वजनिक यातायातको भाडा पेट्रोलियम पदार्थको मूल्य, सञ्चालन लागत तथा सरकारले निर्धारण गरेको स्वचालित भाडा समायोजन प्रणालीका आधारमा समय–समयमा पुनरावलोकन गर्ने व्यवस्था रहे पनि व्यवहारमा यसको कार्यान्वयनमा ढिलाइ हुने गरेको व्यवसायीहरूको गुनासो छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend