सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

लेखा व्यवस्थापनलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सुनचाँदी व्यवसाय रूपान्तरण सम्मेलन सम्पन्न

लेखा व्यवस्थापनलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सुनचाँदी व्यवसाय रूपान्तरण सम्मेलन सम्पन्न

काठमाडौं । काठमाडौं सुनचाँदी व्यवसायी संघको आयोजनामा ‘सुनचाँदी व्यवसाय रूपान्तरण सम्मेलन–२०८३’ काठमाडौंमा सम्पन्न भएको छ। व्यवसायको बदलिँदो आवश्यकता अनुरूप लेखा व्यवस्थापनलाई आधुनिक, व्यवस्थित तथा प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको हो।

सम्मेलनको सभाध्यक्षता काठमाडौं सुनचाँदी व्यवसायी संघकी अध्यक्ष रोहिनीदेवी शाक्यले गर्नुभएको थियो। कार्यक्रममा सुनचाँदी व्यवसायलाई समयअनुकूल रूपान्तरण गर्दै डिजिटल प्रणाली, पारदर्शी लेखा व्यवस्थापन, कर प्रणालीको प्रभावकारी कार्यान्वयन तथा आधुनिक प्रविधिको प्रयोगमार्फत व्यवसायलाई थप विश्वसनीय र प्रतिस्पर्धी बनाउने विषयमा व्यापक छलफल गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले परम्परागत लेखा प्रणालीबाट डिजिटल तथा प्रविधिमा आधारित व्यवस्थापन प्रणालीतर्फ व्यवसायीहरूलाई अग्रसर गराउनुपर्ने आवश्यकता औँल्याएका थिए। व्यवसायको दिगो विकास, वित्तीय अनुशासन, पारदर्शिता तथा ग्राहकको विश्वास अभिवृद्धिका लागि आधुनिक लेखा प्रणाली अपरिहार्य रहेको उनीहरूको भनाइ थियो।

सभाध्यक्ष रोहिनीदेवी शाक्यले सुनचाँदी व्यवसायलाई समयको मागअनुसार रूपान्तरण नगरे प्रतिस्पर्धामा टिक्न कठिन हुने बताउँदै व्यवसायीहरूले सूचना प्रविधिको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले संघले व्यवसायीहरूको क्षमता अभिवृद्धि, आधुनिक व्यवस्थापन प्रणालीको विकास तथा प्रविधिमैत्री व्यवसायिक वातावरण निर्माणका लागि निरन्तर पहल गरिरहेको जानकारी दिनुभयो।

सम्मेलनमा सहभागी व्यवसायीहरूले डिजिटल लेखा प्रणाली, कर व्यवस्थापन, वित्तीय अभिलेखीकरण तथा व्यवसाय सञ्चालनका नयाँ प्रविधिबारे अनुभव आदानप्रदान गरेका थिए। साथै, आगामी दिनमा सुनचाँदी व्यवसायलाई अझ व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउँदै राष्ट्रिय अर्थतन्त्रमा क्षेत्रको योगदान थप मजबुत बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend