काठमाडौं । लेखक रामप्रसाद कोईरालाको चर्चित तथा मार्मिक आत्मकथा ‘मेरी उनी र म’ को दोस्रो संशोधित संस्करण एक विशेष समारोहबीच लोकार्पण गरिएको छ। पुस्तकको लोकार्पण पूर्व मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलेगरेका हुन्।
समारोहकै अवसरमा लेखक कोईरालाले विभिन्न स्थानमा बाल अस्पताल स्थापना गर्ने उद्देश्यसहित आफ्नो निजी निवास बिक्रीबाट प्राप्त रकममध्ये एक करोड ५० लाख रुपैयाँको चेक वरिष्ठ चिकित्सक भगवान कोईरालालाई हस्तान्तरण गरेका छन्। नाताले काका–भतिजा भए पनि दुवैले समाजसेवा र साहित्यका क्षेत्रमा एकअर्कासँग सहकार्य गर्दै आएको उल्लेख गरिएको थियो।
कार्यक्रममा आत्मकथा ‘मेरी उनी र म’ मा आधारित छोटो तर अत्यन्तै भावुक नाटिका पनि प्रस्तुत गरिएको थियो, जसले उपस्थित दर्शकलाई भावुक बनाएको थियो।

यसै अवसरमा पुस्तकको अङ्ग्रेजी संस्करण ‘Colossal Love: My Life’s Journey’ को समेत लोकार्पण गरिएको थियो। नेपाली संस्करणको मूल्य एक हजार रुपैयाँ तथा अङ्ग्रेजी संस्करणको मूल्य सात सय ५० रुपैयाँ निर्धारण गरिएको छ।
लेखक रामप्रसाद कोईरालाले पुस्तक बिक्रीबाट संकलित सम्पूर्ण रकम बाल अस्पताल निर्माणलगायत समाजसेवामूलक कार्यमा लगानी गरिने जानकारी दिएका छन्।
समारोहमा पत्रकार, लेखक, साहित्यकार तथा विभिन्न क्षेत्रका बुद्धिजीवी व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले साहित्यलाई समाजसेवासँग जोड्दै लेखक कोईरालाले देखाएको मानवीय उदाहरण प्रेरणादायी भएको धारणा व्यक्त गरेका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend