सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, संकटकाल घोषणा

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, संकटकाल घोषणा

काठमाडाैं । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा ४० सेकेन्डको अन्तरमा दुई शक्तिशाली भूकम्प गएपछि व्यापक क्षतिको आशंका गरिएको छ । बुधबार साँझ क्यारेबियन तटीय क्षेत्रमा क्रमशः ७.२ र ७.५ म्याग्निच्युडका भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रबिन्दु भेनेजुएलाको काराबोबो राज्यस्थित मोन्टालबान नगरपालिका आसपास रहेको थियो । यो क्षेत्र राजधानी काराकासबाट करिब ३०० किलोमिटर पूर्वमा पर्दछ । भूकम्प पृथ्वीको सतहबाट केवल १३.२ किलोमिटर गहिराइमा गएको बताइएको छ, जसका कारण यसको प्रभाव निकै व्यापक रूपमा महसुस गरिएको थियो ।

भूकम्पका कारण राजधानी काराकासका विभिन्न क्षेत्रमा भवन, घर तथा अन्य संरचनाहरूमा गम्भीर क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। चकाओ, अल्तामिरा र लस पालोस ग्रान्डेस क्षेत्र सबैभन्दा बढी प्रभावित भएका बताइएको छ । दर्जनौँ भवन भत्किएका छन् भने भग्नावशेषमा मानिसहरू पुरिएको आशंका गरिएको छ। यद्यपि घटनामा कति जनाको ज्यान गयो वा कति घाइते भए भन्ने यकिन विवरण सार्वजनिक भइसकेको छैन ।

शक्तिशाली कम्पनपछि हजारौँ नागरिक त्रसित हुँदै घरबाट बाहिर निस्केर सडक तथा खुला स्थानमा जम्मा भएका थिए। भूकम्पको धक्का छिमेकी देश कोलम्बिया र ब्राजिलसम्म महसुस गरिएको बताइएको छ ।

घटनापछि कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशभर संकटकाल घोषणा  गरेका छन ।    उनले नागरिकहरूलाई संयमित रहन, सुरक्षाका मापदण्ड पालना गर्न तथा क्षतिग्रस्त भवनहरू तत्काल खाली गर्न आग्रह  गरेका छन ।

गृह मन्त्री डियोस्डाडो काबेलोले प्रभावित क्षेत्रमा ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको जानकारी दिएका छन । सम्भावित ग्यास विस्फोटको जोखिमलाई ध्यानमा राख्दै सरकारले राजधानीका धेरै क्षेत्रमा ग्यास आपूर्ति अस्थायी रूपमा बन्द गरेको छ ।

यसैबीच, काराकासस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा पनि गम्भीर क्षति पुगेको जनाइएको छ । विमानस्थलको संरचनामा समस्या देखिएपछि सबै उडानहरू रद्द गरिएका छन्। साथै मेट्रो तथा रेल सेवा पनि पूर्ण रूपमा स्थगित गरिएको छ ।

उद्धार टोलीहरू प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा जुटिरहेका छन् । अधिकारीहरूले क्षतिको पूर्ण विवरण आउन अझ केही समय लाग्ने बताएका छन्। प्रारम्भिक अवस्थाले भने भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको संकेत गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend