काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयमा खो–खो खेलको विकास र विस्तार गर्ने उद्देश्यले पहिलोपटक काठमाडौं महानगरपालिका व्यापी विद्यालयस्तरीय प्रथम उपमेयर कप खो–खो प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ।
काठमाडौं महानगरपालिका खो–खो संघले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता यही असार १० गतेदेखि १३ गतेसम्म कीर्तिपुरस्थित कीर्तिपुर खो–खो हलमा सञ्चालन हुने जानकारी दिएको हो।
संघका अध्यक्ष दिपक महर्जनले नेपालले अन्तर्राष्ट्रिय स्तरमा खो–खो खेलमा उल्लेखनीय सफलता हासिल गरिरहेको अवस्थामा विद्यालय तहबाटै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाको सहयोगमा प्रतियोगिता आयोजना गरिएको बताए।
उनका अनुसार नेपालले सन् २०२५ को पहिलो विश्वकप खो–खो प्रतियोगितामा उपविजेता बन्दै इतिहास रचेको थियो। त्यसअघि पनि नेपालले १२औँ र १३औँ दक्षिण एसियाली खेलकुदमा कांस्य तथा रजत पदक जित्नुका साथै सन् २०२३ नोभेम्बरमा भारतको गुवाहाटीमा सम्पन्न चौथो एसियन खो–खो च्याम्पियनसिपमा महिला र पुरुष दुवैतर्फ रजत पदक जितेर अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरेको उनले स्मरण गराए।
प्रतियोगितामा काठमाडौं महानगरपालिकाभित्रका १० वटा सामुदायिक विद्यालयका महिला र पुरुष गरी १८ टोली सहभागी हुनेछन्। कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरू सहभागी हुन पाउने प्रतियोगितामा २१६ खेलाडी, ३६ प्रशिक्षक तथा टोली व्यवस्थापक गरी कुल २५२ जना प्रत्यक्ष सहभागी रहनेछन्।
प्रतियोगिता सञ्चालनका लागि काठमाडौं महानगरपालिकाले ३० लाख रुपैयाँ र काठमाडौं महानगरपालिका खो–खो संघले ६ लाख रुपैयाँ व्यहोर्ने गरी कुल ३६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको संघले जनाएको छ।

आयोजकका अनुसार सहभागी खेलाडीहरूलाई प्रतियोगिताअघि १० दिनको प्रशिक्षण, प्रशिक्षण अवधिको खाजा, प्रतियोगिताभर खाना–खाजा तथा जर्सी उपलब्ध गराइनेछ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीलाई नगदसहित पुरस्कार प्रदान गरिनेछ। महिला र पुरुष दुवै समूहका प्रथम हुने टोलीले ५० हजार रुपैयाँ, दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ तथा तेस्रो हुने टोलीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यसैगरी उत्कृष्ट रनर र उत्कृष्ट चेजरलाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। विजेताहरूले नगदसँगै ट्रफी, मेडल र प्रमाणपत्र पनि प्राप्त गर्नेछन्।
प्रतियोगिताको अर्को विशेषता खेलाडी बीमा व्यवस्था रहेको संघले जनाएको छ। खेल अवधिमा कुनै खेलाडी गम्भीर दुर्घटनामा परेमा एक लाख रुपैयाँसम्मको उपचार सुविधा उपलब्ध गराइने व्यवस्था गरिएको छ।
प्रतियोगिताको लोगोमा काठमाडौं दरबार क्षेत्रस्थित नौतल्ले दरबार अगाडिको डबलीमा खो–खो खेलिरहेको तथा पोल डाइभ दिइरहेको दृश्य समेटिएको छ। प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन हुनेछ।
प्रतियोगिता सफल बनाउन ३० जना निर्णायक र ३० जना स्वयंसेवक परिचालन गरिनेछन्। खेलाडी, प्रशिक्षक, टोली व्यवस्थापक, निर्णायक, स्वयंसेवक तथा संघका पदाधिकारीसहित प्रतियोगितामा कुल २७५ जना प्रत्यक्ष रूपमा परिचालित हुने आयोजकले जनाएको छ।
अध्यक्ष महर्जनले विद्यालयस्तरबाट प्रतिभावान खेलाडी उत्पादन गर्दै काठमाडौं महानगरपालिकालाई खो–खो खेलको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको बताए। उनले यस प्रतियोगिताले सामुदायिक विद्यालयका विद्यार्थीमा खेलप्रतिको आकर्षण बढाउनुका साथै भविष्यमा राष्ट्रिय टोलीका लागि दक्ष खेलाडी उत्पादन गर्न महत्वपूर्ण आधार तयार गर्ने विश्वास व्यक्त गरे।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend