काठमाडौं। नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनको १३औँ साधारणसभापछि नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ। निर्वाचनमार्फत अध्यक्षसहित नयाँ कार्यसमिति चयन गरिनेछ।
अध्यक्ष पदका प्रत्याशी किशोर कुमार केसी ले व्यवसायीहरूको हकहित संरक्षण, संस्थागत सुदृढीकरण तथा वैदेशिक रोजगार व्यवसायलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउन आफू नेतृत्वका लागि मैदानमा उत्रिएको बताएका छन्।
स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ स्थायी घर भई हाल काठमाडौंको नागार्जुन–२ मा बसोबास गर्दै आएका केसी SRK Overseas Nepal Pvt. Ltd. का सञ्चालक हुन्। उनी लामो समयदेखि वैदेशिक रोजगार क्षेत्र र लोकतान्त्रिक संगठनमा सक्रिय रहँदै आएका छन्।

केसी २०७३ सालमा एसोसिएसनको आठौँ साधारणसभाबाट सदस्यमा निर्वाचित भएका थिए। त्यसपछि कोषाध्यक्ष, द्वितीय उपाध्यक्ष, सल्लाहकारलगायत विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन्। साथै नेपाल वैदेशिक रोजगार व्यवसायी संघको तृतीय उपाध्यक्ष, ३१औँ साधारणसभाको निर्वाचन परिचालन समितिको क्षेत्रीय संयोजकलगायत भूमिकामा समेत उनले काम गरिसकेका छन्। नेपाली कांग्रेसको संगठनमा पनि उनले विभिन्न जिम्मेवारी निर्वाह गरेको उल्लेख गरेका छन्।
अध्यक्षमा निर्वाचित भए वैदेशिक रोजगार व्यवसायीको हकहितका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघसँग प्रभावकारी समन्वय गर्ने, व्यवसायलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउन छाता संगठनसँग निरन्तर खबरदारी गर्ने, सरकार तथा सम्बन्धित निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्ने, एसोसिएसनलाई चुस्त र दुरुस्त बनाउने, संगठन विस्तारलाई प्राथमिकता दिने, आर्थिक पारदर्शिता कायम गर्ने तथा लोकतान्त्रिक विचारधारामा आबद्ध व्यवसायीहरूबीच एकता सुदृढ गर्ने आफ्नो प्रतिबद्धता रहेको उनले बताएका छन्।
आज हुने निर्वाचनलाई एसोसिएसनको भावी दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। नयाँ नेतृत्वले वैदेशिक रोजगार व्यवसायीहरूको साझा हित, व्यवसायिक सुरक्षा तथा संस्थागत एकतालाई कसरी अघि बढाउँछ भन्ने विषयमा व्यवसायीहरूको विशेष चासो रहेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend