काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साउदी अरबले आगामी जुलाई १, २०२६ देखि लागू गर्ने घोषणा गरेको स्किल्स भेरिफिकेसन प्रोग्राम (एसभीपी) प्रति गम्भीर चासो व्यक्त गर्दै यसले नेपाली श्रमिकमाथि थप आर्थिक भार र वैदेशिक रोजगार प्रक्रियामा अनावश्यक जटिलता सिर्जना गर्ने जनाएको छ।
संघले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने उद्देश्यअनुरूप श्रमिकमाथि अनावश्यक आर्थिक भार पर्ने, प्रतिस्पर्धा सीमित हुने वा कुनै प्रकारको एकाधिकार सिर्जना गर्ने व्यवस्थाको निरन्तर विरोध गर्दै आएको उल्लेख गरेको छ।
संघका अनुसार नेपालस्थित साउदी अरब अधिराज्यको दूतावासले असार १ गते प्रकाशित गरेको सूचनाअनुसार लागू हुन लागेको स्किल्स भेरिफिकेसन प्रोग्रामले श्रमिकलाई थप खर्चको भार बोकाउनुपर्ने, वैदेशिक रोजगार प्रक्रियामा समय बढाउने तथा हाल कायम रहेको श्रम स्वीकृति र सीप प्रमाणीकरण प्रणालीसँग दोहोरोपन तथा केही हदसम्म विरोधाभास उत्पन्न गर्ने देखिएको छ।
यस विषयमा संघले नेपाल सरकार तथा युवा, श्रम तथा रोजगार मन्त्रालयलाई कूटनीतिक पहलमार्फत श्रमिकमैत्री र व्यावहारिक समाधान खोज्न आग्रह गरिसकेको जनाएको छ। साथै, विषयमा विस्तृत छलफल र आवश्यक समन्वयका लागि नेपालस्थित साउदी अरबको दूतावाससँग भेटघाटको समयसमेत माग गरी प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ।
संघले नेपाली श्रमिकको हित, रोजगारदाताको आवश्यकता तथा नेपाल–साउदीबीचको श्रम सहकार्यको भावनालाई सम्मान गर्दै संवाद र सहकार्यबाट सकारात्मक निष्कर्षमा पुग्न सकिने विश्वास व्यक्त गरेको छ।
महासचिव हिरा बहादुर डाँगी (हरि)द्वारा हस्ताक्षरित विज्ञप्तिमा सम्बन्धित निकायहरूसँगको छलफल तथा कूटनीतिक पहलबाट ठोस निष्कर्ष नआउँदासम्म सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीलाई धैर्यता, संयमता र एकता कायम राख्न आग्रह गरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend