काठमाडौं । सम्पत्ति मूल्यांकनकर्ता इन्जिनियरहरूको साझा संस्था नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए) ले नेपाल एसबीआई बैंकसँग सम्बन्धित सम्पत्ति मूल्यांकनका सम्पूर्ण सेवा भोलिदेखि बन्द गर्ने घोषणा गरेको छ। लामो समयदेखि आफ्ना जायज मागप्रति बैंकले बेवास्ता गरेको निष्कर्ष निकाल्दै एशोसिएशनले आन्दोलनको पहिलो चरणस्वरूप यस्तो निर्णय गरेको हो।
बुधबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा देशभरका एक सयभन्दा बढी मूल्यांकनकर्ता इन्जिनियरहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले एसबीआई बैंकसँग विगत चार–पाँच महिनादेखि निरन्तर संवाद र वार्ता भए पनि कुनै ठोस उपलब्धि हासिल नभएको भन्दै अब सेवा बन्द गर्नुको विकल्प नरहेको धारणा व्यक्त गरेका थिए। निर्णयप्रति उपस्थित सबैले कर्तलध्वनिमार्फत एकमत समर्थन जनाएका थिए।
एनभिएका केन्द्रीय अध्यक्ष इन्जिनियर संजयकुमार महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष इन्जिनियर विकास वाग्लेले स्वागत मन्तव्य दिएका थिए। महासचिव इन्जिनियर अशोक सिलवालले नेपाल एसबीआई बैंक, प्राइम कमर्सियल बैंक तथा अन्य बैंकहरूसँग भइरहेको वार्ताको प्रगति विवरण प्रस्तुत गरेका थिए भने उपाध्यक्ष इन्जिनियर दिनेशकुमार पाठकले मूल्यांकनकर्ता इन्जिनियरहरूले उठाएका समस्या तथा जिज्ञासाबारे स्पष्ट पारेका थिए। कार्यक्रममा उपाध्यक्ष इन्जिनियर प्रज्ञान घिमिरे र कोषाध्यक्ष इन्जिनियर सन्देश श्रेष्ठले पनि आफ्ना धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन केन्द्रीय सचिव इन्जिनियर रबिन्द्र अधिकारीले गरेका थिए।
अध्यक्ष महतोले बैंकहरूसँग निरन्तर संवाद भए पनि माग सम्बोधनतर्फ कुनै सकारात्मक प्रगति नदेखिएको बताए। सहभागी इन्जिनियरहरूले एसबीआई बैंकको कार्यशैलीले मूल्यांकनकर्ता इन्जिनियरहरूको मनोबल कमजोर बनाएको मात्र होइन, अन्य बैंकहरूसँग भइरहेको वार्तामा समेत प्रतिकूल प्रभाव पारेको गुनासो गरेका थिए।
कार्यक्रममा चरणबद्ध आन्दोलनको रणनीति अघि बढाउने सहमति पनि भएको छ। पहिलो चरणमा एसबीआई बैंकको सम्पत्ति मूल्यांकन सेवा बन्द गरिने, त्यसपछि आवश्यकता अनुसार प्राइम कमर्सियल बैंक र अन्य बैंकहरूमा समेत आन्दोलन विस्तार गरिने सहभागीहरूको धारणा थियो।
अध्यक्ष महतोले मूल्यांकनकर्ता इन्जिनियरहरू नै संस्थाको प्रमुख शक्ति भएको उल्लेख गर्दै संगठन उनीहरूको सुझाव, भावना र एकताका आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
एनभिएका अनुसार पहिलो चरणमा एसबीआई बैंकसँग सम्बन्धित सम्पत्ति मूल्यांकनका सम्पूर्ण काम तत्कालका लागि स्थगित गरिएको छ। यद्यपि बैंकले मूल्यांकनकर्ता इन्जिनियरहरूको माग सम्बोधन गर्ने गरी लिखित प्रतिबद्धता जनाएमा केन्द्रीय कार्यसमितिले आवश्यक निर्णय पुनर्विचार गर्न सक्ने जनाएको छ। अन्यथा भोलिदेखि एसबीआई बैंकमा सम्पत्ति मूल्यांकन सेवा पूर्ण रूपमा बन्द हुने एशोसिएशनले स्पष्ट गरेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend