ललितपुर । मदिरा व्यवसायी संघ ललितपुरको एघारौँ वार्षिक साधारणसभा विभिन्न क्षेत्रका व्यवसायी, संघ–संस्थाका प्रतिनिधि तथा सरोकारवालाको उल्लेखनीय सहभागिताबीच भव्य रूपमा सम्पन्न भएको छ।
साधारणसभाको अध्यक्षता मदिरा व्यवसायी संघ ललितपुरका अध्यक्ष हरीप्रसाद अधिकारीले गरेका थिए भने नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सोनाम शेर्पा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा संघका निवर्तमान अध्यक्ष उपेन्द्र लाखे, संस्थापक अध्यक्ष तथा नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय सह–कोषाध्यक्ष राजेन्द्र लामा तामात्य, महासंघका पूर्व अध्यक्षहरू सन्तोष पाण्डे, राम श्रेष्ठ र नवीनलाल श्रेष्ठ, केन्द्रीय वरिष्ठ उपाध्यक्ष मदन गौतम, सल्लाहकारहरू, विभिन्न जिल्लाका अध्यक्षहरू तथा उद्योग–वाणिज्य क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सोनाम शेर्पाले मदिरा व्यवसायीहरूले भोगिरहेका विविध समस्या तथा चुनौतीबारे प्रकाश पारे। उनले पछिल्लो समय व्यवसाय सञ्चालनका क्रममा व्यवसायीहरूले भोग्नुपरेको कर, नियमन, बजार व्यवस्थापन तथा नीतिगत जटिलताका विषयमा सरकारको ध्यानाकर्षण गराए। व्यवसायीहरूलाई सहज वातावरणमा व्यापार गर्न दिने नीति आवश्यक रहेको उल्लेख गर्दै उनले मदिरा व्यवसायलाई व्यवस्थित, मर्यादित र जिम्मेवार व्यवसायका रूपमा स्थापित गर्न महासंघ निरन्तर लागिरहेको बताए।
शेर्पाले व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक सुरक्षा, कर प्रणालीमा सुधार तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि महासंघले सम्बन्धित निकायसँग निरन्तर संवाद गरिरहेको जानकारी दिए। उनले एकताबद्ध भएर अघि बढ्न सके मात्र व्यवसायीका समस्या समाधान सम्भव हुने धारणा व्यक्त गरे।
कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष विश्वराज वज्राचार्य, ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्य, नेपाल मदिरा व्यवसायी महासंघका महासचिव गोविन्दप्रसाद बराल, बागमती प्रदेश अध्यक्ष हरिप्रसाद दाहाल तथा केन्द्रीय सदस्यहरूले पनि शुभकामना मन्तव्य राख्दै व्यवसायीहरूको एकता र व्यवसायिक सुदृढीकरणमा जोड दिएका थिए।
त्यसैगरी काठमाडौं, भक्तपुर, काभ्रे लगायत विभिन्न जिल्लाका मदिरा व्यवसायी संघका अध्यक्ष तथा प्रतिनिधिहरूले सहभागिता जनाउँदै अन्तरजिल्ला समन्वय र सहकार्यलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
साधारणसभामा संघको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजनामाथि छलफल गरी पारित गरिएको थियो। सहभागीहरूले व्यवसायीहरूको क्षमता अभिवृद्धि, व्यवसायिक अधिकारको संरक्षण तथा संगठनलाई थप सशक्त बनाउने विषयमा सुझावसमेत दिएका थिए।
कार्यक्रमको समापन गर्दै अध्यक्ष हरीप्रसाद अधिकारीले साधारणसभाको सफलतामा सहयोग पुर्याउने सम्पूर्ण अतिथि, सदस्य तथा सहभागीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा संघलाई अझ सक्रिय र प्रभावकारी बनाउँदै व्यवसायीहरूको हितमा काम गर्ने प्रतिबद्धता जनाए। एघारौँ वार्षिक साधारणसभाले व्यवसायीहरूबीच एकता, सहकार्य र संगठनात्मक सुदृढीकरणको सन्देश दिएको आयोजकले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend