काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभालाई लक्षित गर्दै कार्यसमिति सदस्य पदका उम्मेदवार ज्योति गैरेले एकताबद्ध, सबल र प्रभावकारी इप्पान निर्माणका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गरेकी छिन् ।
ऊर्जा क्षेत्रको दिगो विकास, निजी क्षेत्रको लगानी प्रवर्द्धन तथा सदस्यहरूको हकहित संरक्षणलाई प्राथमिकतामा राख्दै गैरेले आगामी कार्यकालका लागि विभिन्न एजेण्डा सार्वजनिक गरेकी छिन् । उनले ऊर्जा क्षेत्रको विकासका लागि नीति तथा नियमन सुधार आवश्यक रहेको उल्लेख गर्दै निजी क्षेत्रमैत्री वातावरण निर्माण गर्न इप्पानले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने बताइन ।
गैरेले ऊर्जा क्षेत्रमा लगानी प्रवर्द्धन र वित्तीय पहुँच विस्तारलाई आफ्नो प्रमुख प्राथमिकतामध्ये एक बनाएकी छिन् । जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जा आयोजनामा लगानी आकर्षित गर्न आवश्यक सहजीकरण, बैंक तथा वित्तीय संस्थासँग समन्वय र लगानीमैत्री वातावरण निर्माणमा जोड दिने उनको प्रतिबद्धता रहेको छ।
त्यसैगरी, ऊर्जा उत्पादक, सरकारी निकाय, नियामक संस्था तथा सरोकारवालाबीच समन्वय र सहकार्य अभिवृद्धि गर्दै ऊर्जा क्षेत्रका साझा मुद्दाको समाधान खोज्न आफू सक्रिय रहने उनले बताइकी छिन । ऊर्जा व्यापार र बजार विस्तारमार्फत नेपाली ऊर्जा उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने विषयलाई पनि उनले महत्वपूर्ण एजेण्डाका रूपमा अघि सारेकी छन्।
गैरेले दिगो विकास र वातावरण संरक्षणलाई ऊर्जा विकाससँगै अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै स्वच्छ ऊर्जा उत्पादन र वातावरणीय सन्तुलनबीच सामञ्जस्य कायम गर्न इप्पानले नेतृत्वदायी भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरेकी छन् ।
सदस्यहरूको हित संरक्षण तथा क्षमता अभिवृद्धिलाई समेत प्राथमिकतामा राख्दै उनले इप्पानका सदस्य संस्थाहरूको व्यावसायिक विकास, सीप अभिवृद्धि र संस्थागत सुदृढीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न पहल गर्ने प्रतिबद्धता जनाएकी छन्।
“एकताबद्ध र सबल इप्पान निर्माण आजको आवश्यकता हो। ऊर्जा क्षेत्रका साझा चुनौती समाधान गर्दै निजी ऊर्जा उत्पादकहरूको आवाजलाई अझ सशक्त बनाउन मेरो उम्मेदवारी केन्द्रित रहनेछ,” गैरेले बताइन ।
इप्पानको २४औँ वार्षिक साधारणसभामार्फत नयाँ नेतृत्व चयन हुने क्रममा विभिन्न पदमा उम्मेदवारी घोषणा भइरहेका बेला ज्योति गैरेले प्रस्तुत गरेका एजेण्डाले ऊर्जा क्षेत्रका सरोकारवालामाझ सकारात्मक चर्चा पाएको छ। उनले सम्पूर्ण सदस्यहरूको साथ, सहयोग र विश्वासको अपेक्षा गर्दै संस्थाको सुदृढीकरण तथा ऊर्जा क्षेत्रको समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको बताइकी छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend