सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एकताबद्ध र सबल इप्पान निर्माणमा जोड, जगतबहादुर पोखरेलद्वारा कार्यसमिति सदस्यमा उम्मेदवारी घोषणा

एकताबद्ध र सबल इप्पान निर्माणमा जोड, जगतबहादुर पोखरेलद्वारा कार्यसमिति सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभा तथा नयाँ नेतृत्व चयनको तयारी तीव्र भइरहेका बेला जगतबहादुर पोखरेलले कार्यसमिति सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

पोखरेलले “एकताबद्ध र सबल इप्पान निर्माण” को नारासहित उम्मेदवारी प्रस्तुत गर्दै निजी ऊर्जा क्षेत्रका साझा मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले इप्पानलाई थप प्रभावकारी, समावेशी र ऊर्जाक्षेत्रको हितमा सक्रिय संस्थाका रूपमा स्थापित गर्न आफूले भूमिका खेल्ने बताए।

उनले आफ्नो उम्मेदवारीमार्फत ऊर्जा क्षेत्रको विकास र निजी क्षेत्रका उत्पादकहरूको हित संरक्षणका लागि सात प्रमुख एजेण्डा अघि सारेका छन्। जसमा नीति तथा नियमन सुधार, लगानी प्रवर्द्धन तथा वित्तीय पहुँच विस्तार, सरोकारवालाबीच समन्वय र सहकार्य अभिवृद्धि, ऊर्जा व्यापार तथा बजार विस्तार, दिगो विकास र वातावरण संरक्षण, सदस्य हित संरक्षण तथा सदस्यहरूको क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखिएको छ।

पोखरेलले ऊर्जा क्षेत्रमा देखिएका नीतिगत जटिलता, लगानीका चुनौती तथा बजार विस्तारका अवरोध हटाउन इप्पानले थप सशक्त भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए। उनले निजी क्षेत्रको लगानीमै नेपालको ऊर्जा क्षेत्र अगाडि बढिरहेको उल्लेख गर्दै लगानीमैत्री वातावरण निर्माणका लागि संस्थागत पहल आवश्यक रहेको बताए।

उनका अनुसार इप्पानले सदस्यहरूको व्यावसायिक हित रक्षा गर्नुका साथै ऊर्जा क्षेत्रमा नयाँ अवसर सिर्जना गर्न सरकार, नियामक निकाय तथा विकास साझेदारहरूसँग प्रभावकारी समन्वय गर्नुपर्छ। साथै ऊर्जा निर्यात, क्षेत्रीय बजार विस्तार र हरित ऊर्जाको प्रवर्द्धनलाई पनि प्राथमिकतामा राख्नुपर्ने उनको धारणा छ।

इप्पानको आगामी नेतृत्व चयनलाई ऊर्जा क्षेत्रको भावी दिशा निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। यसैबीच कार्यसमिति सदस्य पदका उम्मेदवार पोखरेलले संस्थाको एकता, सदस्यहरूको हित र ऊर्जा क्षेत्रको दिगो विकासलाई केन्द्रमा राखेर आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend