सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रश्न नेतृत्वमाथि होइन, प्रक्रियामाथि होः पुनमगर

प्रश्न नेतृत्वमाथि होइन, प्रक्रियामाथि होः पुनमगर

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङका जिल्ला कार्यसमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि टेक पुन मगरले पार्टीभित्र बढ्दो केन्द्रीय हस्तक्षेपप्रति चिन्ता व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पार्टीको आन्तरिक लोकतन्त्र, विधि र पद्धतिलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।

मगरले पार्टी नेतृत्व अर्थात् केन्द्र केही बढी नै हाबी भएको महसुस भइरहेको उल्लेख गर्दै विगतको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तथा प्रत्यक्षतर्फ उम्मेदवार छनोट प्रक्रियामा केन्द्रको प्रभावबारे उठेका प्रश्नहरू अझै ताजा रहेको बताएका छन्। उनले हाल भइरहेको जिल्ला अधिवेशनमा पनि त्यही प्रवृत्ति दोहोरिएको जस्तो देखिनुले कार्यकर्ता र शुभेच्छुकहरूमा थप चिन्ता बढाएको उल्लेख गरेका छन्।

उनले यही अभ्यास निरन्तर रहिरहे आगामी स्थानीय तह निर्वाचनमा मेयर, उपमेयरदेखि वडा तहसम्मका उम्मेदवार माथिबाटै तय गर्ने वा मनोनयन गर्ने प्रवृत्ति बढ्न सक्ने आशंका व्यक्त गरेका छन्। स्थानीय कार्यकर्ताको भावना, योगदान र संगठनको मर्मलाई सम्मान नगरी गरिएका निर्णयले पार्टीलाई बलियो बनाउनेभन्दा कमजोर बनाउने उनको तर्क छ।

मगरले लोकतान्त्रिक पार्टीभित्र निर्णय प्रक्रिया पारदर्शी, सहभागितामूलक र विधिसम्मत हुनुपर्ने धारणा राखेका छन्। उनका अनुसार केन्द्र र तल्लो तहबीच सन्तुलित सम्बन्ध कायम गर्दै आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउनु आवश्यक छ।

“प्रश्न नेतृत्वमाथि होइन, प्रक्रियामाथि हो,” उनले फेसबुक पोस्टमा लेखेका छन्, “विधि, पद्धति र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने हो भने केन्द्र र तल्लो तहबीच सन्तुलित सम्बन्ध कायम हुन आवश्यक छ।”

मगरको यो अभिव्यक्तिलाई रास्वपाभित्र संगठन निर्माण, उम्मेदवार छनोट प्रक्रिया र आन्तरिक लोकतन्त्रबारे उठिरहेको बहसको एक हिस्साका रूपमा हेरिएको छ। जिल्ला अधिवेशन र आगामी निर्वाचनको सन्दर्भमा पार्टीभित्र निर्णय प्रक्रियालाई थप पारदर्शी र सहभागितामूलक बनाउनुपर्ने आवाज विभिन्न तहबाट उठिरहेका बेला उनको टिप्पणी सार्वजनिक भएको हो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend