सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

वैदेशिक रोजगार व्यवसायी संघमा शक्ति सन्तुलन फेरियो, डिकबहादुर खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति गठन

वैदेशिक रोजगार व्यवसायी संघमा शक्ति सन्तुलन फेरियो, डिकबहादुर खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति गठन

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा लामो समयदेखि देखिएको नेतृत्व संकट अन्ततः विशेष साधारणसभामार्फत टुंगिएको छ। जेठ २४ गते सम्पन्न निर्वाचनले संघको नेतृत्व परिवर्तन गर्दै डिकबहादुर खत्रीलाई अध्यक्षको जिम्मेवारी सुम्पिएको छ। नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्व गर्दै चुनावी मैदानमा उत्रिएका खत्रीले बहुमतसहित नयाँ कार्यसमिति गठन गर्न सफल भएका हुन्।

विशेष साधारणसभाबाट चयन भएको १७ सदस्यीय कार्यसमितिमा खत्री पक्षको उल्लेखनीय प्रभाव देखिएको छ। उनको प्यानलबाट ६ जना पदाधिकारी र ८ जना सदस्य गरी १४ जना निर्वाचित भएका छन्। यसले संघको आगामी नेतृत्व र नीतिगत दिशामा खत्री समूहको बलियो पकड स्थापित भएको विश्लेषण गरिएको छ।

संघमा नयाँ नेतृत्व चयन हुनुको पृष्ठभूमि भने निकै रोचक र विवादास्पद रह्यो। यसअघि २०८१ चैत २९ गते सम्पन्न ३१औँ साधारणसभाबाट नेपाली कांग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका भुवनसिंह गुरुङ अध्यक्ष बनेका थिए। तर नेतृत्व सम्हालेको केही समयमै उनको कार्यशैलीप्रति असन्तुष्टि चुलिँदै गयो। महासचिव महेश कुमार बस्नेतसहित बहुमत पदाधिकारी तथा सदस्यहरूले सामूहिक राजीनामा दिएपछि कार्यसमिति प्रभावहीन बन्न पुगेको थियो।

दुई तिहाइभन्दा बढी पदाधिकारी तथा सदस्यले राजीनामा दिएपछि संघको कार्यसमिति स्वतः विघटनको अवस्थामा पुगेको थियो। त्यसपछि विधानअनुसार विशेष साधारणसभा आयोजना गर्न प्रबन्ध समिति गठन गरिएको थियो। यद्यपि, तत्कालीन अध्यक्ष गुरुङले उक्त समितिलाई अवैधानिक भन्दै आफू नै वैधानिक अध्यक्ष रहेको दाबी गर्दै आएका थिए। विवाद बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले हस्तक्षेप गरी विशेष साधारणसभा आयोजना गर्न निर्देशन दिएको थियो।

निर्वाचनमा एमाले, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी निकटका व्यवसायीहरू तीन अलग-अलग प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए। खत्री नेतृत्वको प्रगतिशील समूहलाई नेकपा निकट गणतान्त्रिक मञ्च तथा कांग्रेस निकट लोकतान्त्रिक समूहभित्रको असन्तुष्ट पक्षले समर्थन गरेको थियो। यही समीकरण खत्रीको जितको मुख्य आधार बनेको देखिएको छ।

निर्वाचन परिणामले गणतान्त्रिक मञ्चलाई पनि संघभित्र प्रभावशाली शक्तिका रूपमा स्थापित गरेको छ। मञ्चका तर्फबाट द्वितीय उपाध्यक्षमा अनिल बोगटी र सचिवमा केदारनाथ अधिकारी निर्वाचित भएका छन्। साथै सदस्यहरूमा तारा तामाङ, तारामणि राई, रविन्द्र राई, भावना गजुरेल र बाबुराम न्यौपानेले जित हासिल गरेका छन्। यससँगै मञ्चका कुल सात जना प्रतिनिधि नयाँ कार्यसमितिमा पुगेका छन्।

महासचिव पदमा प्रगतिशील समूहका हिरा बहादुर डाँगी निर्वाचित भएका छन् भने कोषाध्यक्षमा धनमाया सिन्जाली पुनः निर्वाचित हुन सफल भएकी छन्। कार्यसमिति सदस्यमा ध्रुव जिसीले पनि स्थान सुरक्षित गरेका छन्।

निर्वाचनको अर्को महत्वपूर्ण पक्ष भनेको लोकतान्त्रिक समूहभित्रको विभाजन हो। विघटित कार्यसमितिका महासचिव महेश कुमार बस्नेत लोकतान्त्रिक समूहबाट अलग भई खत्री पक्षमा लागेका थिए। उनी नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्ष निर्वाचित भएका छन्। त्यस्तै लोकतान्त्रिक समूहबाट विद्रोह गरेकी रमा खड्का पनि सदस्य पदमा निर्वाचित भएकी छन्।

यता कांग्रेस निकट मेघनाथ भुर्तेल समूहले अपेक्षित सफलता हासिल गर्न नसके पनि तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल तथा सदस्यमा दीक्षा थपलिया र गीता राउतलाई निर्वाचित गराउन सफल भएको छ।

विशेष साधारणसभाको नतिजाले वैदेशिक रोजगार व्यवसायी संघभित्रको शक्ति समीकरणमा ठूलो परिवर्तन ल्याएको छ। लामो समयको आन्तरिक विवाद, नेतृत्व संघर्ष र कानुनी बहसपछि बनेको नयाँ कार्यसमितिले अब व्यवसायीहरूको हकहित, श्रम बजार विस्तार तथा वैदेशिक रोजगार क्षेत्रका चुनौती समाधानतर्फ कस्तो भूमिका खेल्छ भन्ने विषयमा व्यवसायीहरूको चासो केन्द्रित भएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend