काठमाडौं । जलविद्युत् क्षेत्रमा सक्रिय रिभर फल्स पावर लिमिटेडले आफ्नो वार्षिक साधारण सभा (एजीएम) सम्पन्न गर्दै आगामी दिनमा उत्पादन क्षमता विस्तार तथा शेयरधनीको हित संरक्षणलाई प्रमुख प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कम्पनीको वार्षिक साधारण सभा आइतबार काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा सम्पन्न भएको हो। सभाले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ का वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्नुका साथै लेखापरीक्षक नियुक्ति, सञ्चालक निर्वाचन लगायतका विभिन्न प्रस्तावहरू अनुमोदन गरेको कम्पनीले जनाएको छ।
सभामा कम्पनीका पदाधिकारीहरूले रिभर फल्स पावरको हालसम्मको प्रगति, सञ्चालन अवस्था तथा आगामी रणनीतिबारे जानकारी गराएका थिए। साथै नेपालको ऊर्जा क्षेत्रमा देखिएका अवसर र सम्भावनालाई उपयोग गर्दै कम्पनीलाई थप सुदृढ बनाउने योजनाबारे पनि शेयरधनीहरूलाई अवगत गराइएको थियो।
सन् २००४ मा स्थापना भएको रिभर फल्स पावर सन् २०१५ मा सार्वजनिक कम्पनीमा रूपान्तरण भएको थियो। जलविद्युत् उत्पादनलाई मुख्य व्यवसाय बनाएको कम्पनीको शेयर सन् २०२२ देखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत रहेको छ।
साधारण सभामा कम्पनीले पारदर्शिता, सुशासन र दिगो विकासप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याउँदै दीर्घकालीन व्यावसायिक योजनाअनुसार अघि बढ्ने जनाएको छ। बढ्दो आन्तरिक विद्युत् खपत र विद्युत् निर्यातको सम्भावनालाई मध्यनजर गर्दै कम्पनीले भविष्यका योजनाहरूलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।
कम्पनीका अनुसार हालको ऊर्जा बजारको विस्तारसँगै जलविद्युत् क्षेत्रमा लगानी र उत्पादन वृद्धि गर्ने अनुकूल वातावरण सिर्जना हुँदै गएको छ। यही सम्भावनालाई अवसरका रूपमा उपयोग गर्दै कम्पनीले आगामी वर्षहरूमा थप उपलब्धिमूलक यात्रा तय गर्ने लक्ष्य राखेको जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend