सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राप्रपा कमजोर हुनुमा नेतृत्वको भूमिका रहेको तारानाथ लुईटेलको आरोप

राप्रपा कमजोर हुनुमा नेतृत्वको भूमिका रहेको तारानाथ लुईटेलको आरोप

काठमाडौं । प्रजातान्त्रिक पार्टी नेपालका अध्यक्ष तारानाथ लुईटेल ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालको वर्तमान अवस्था कमजोर हुनुमा नेतृत्व तहको गलत राजनीतिक निर्णय जिम्मेवार रहेको आरोप लगाएका छन्।
एक धारणा सार्वजनिक गर्दै अध्यक्ष लुईटेलले राप्रपा नेपाल निर्माण र विस्तारमा आफूले पनि महत्वपूर्ण योगदान दिएको दाबी गरेका छन्। उनले पार्टीलाई मजबुत बनाउने क्रममा आफ्नो रगत र पसिना मिसिएको भन्दै विगतमा २५ जना सभासद निर्वाचित गराउन आफूहरूको समेत महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे।
उनले विशेष गरी कमल थापा प्रति लक्षित गर्दै देश र आन्दोलनप्रति भएको योगदानको मूल्याङ्कन गर्न नसकेको आरोप लगाए। लुईटेलका अनुसार राप्रपा र राप्रपा नेपाललाई कमजोर बनाउने प्रक्रियाले राजसंस्था पुनर्स्थापना तथा वैदिक सनातन हिन्दु राष्ट्रको एजेन्डासमेत कमजोर बनेको छ।
उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र कमल थापाले केपी शर्मा ओली नेतृत्वको एमालेसँग राजनीतिक निकटता बढाउनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरे। उनका अनुसार उक्त राजनीतिक समीकरणका कारण राजसंस्था, वैदिक सनातन हिन्दु राष्ट्र र राष्ट्रवादी शक्तिहरूको आन्दोलन अपेक्षित रूपमा अघि बढ्न नसकेको छ।
अध्यक्ष लुईटेलले राष्ट्रवादी तथा प्रजातान्त्रिक शक्तिहरूबीच पुनः एकता, स्पष्ट राजनीतिक दिशा र जनआधारित आन्दोलन आवश्यक रहेको बताएका छन्। उनले मुलुकको राजनीतिक स्थायित्व, राष्ट्रिय पहिचान र वैचारिक स्पष्टताका लागि वैकल्पिक राजनीतिक शक्तिहरूको भूमिका अझ सशक्त हुनुपर्ने धारणा व्यक्त गरे।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend