काठमाडौं । जग्गासम्बन्धी सेवा लिन नापी कार्यालय धाउनुपर्ने झन्झट अब क्रमशः घट्ने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको नापी विभागले नागरिकलाई घरमै बसेर सेवा उपलब्ध गराउने उद्देश्यसहित ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ।
सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको उपस्थितिमा सार्वजनिक गरिएको उक्त एप एन्ड्रोइड र आइओएस दुवै प्लेटफर्ममा उपलब्ध रहेको विभागले जनाएको छ। सेवाग्राहीले प्ले स्टोर तथा एप स्टोरबाट एप डाउनलोड गरी विभिन्न जग्गासम्बन्धी सेवा अनलाइनमार्फत लिन सक्नेछन्।
नापी विभागका अनुसार एपमार्फत नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखाङ्कनका लागि आवेदन दिन सकिनेछ। आवेदन दर्तापछि प्रणालीले ओटिपी उपलब्ध गराउनेछ, जसको प्रयोग गरेर सेवाग्राहीले आफ्नो निवेदनको अवस्था जुनसुकै समयमा पनि अनुगमन गर्न सक्नेछन्।
एपमा डिजिटल भुक्तानीको सुविधा समेत समावेश गरिएको छ। सेवाग्राहीले ई–सेवा, खल्ती र कनेक्ट आइपिएसमार्फत आवश्यक राजस्व तिर्न सक्नेछन्। विशेषगरी फिल्ड रेखाङ्कन सेवाका लागि आवश्यक शुल्क अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको विभागले जनाएको छ।
यसबाहेक, सम्बन्धित नापी कार्यालयका कार्यालय प्रमुख तथा सूचना अधिकारीको सम्पर्क विवरण पनि एपमै उपलब्ध हुने भएकाले सेवाग्राहीलाई सूचना प्राप्त गर्न थप सहज हुने अपेक्षा गरिएको छ। विभागका अनुसार ‘मेरोकित्ता’ सेवा मोबाइल एपसँगै वेब संस्करणमा समेत सञ्चालनमा रहनेछ।
कार्यक्रममा मन्त्री रावलले सूचना प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार गर्नु सरकारको प्राथमिकता रहेको बताइन्। उनले जग्गासम्बन्धी सेवा लिन कार्यालय पुग्नुपर्ने बाध्यता हटाउँदै डिजिटल माध्यमबाट सेवा प्रवाहलाई सरल, छिटो, पारदर्शी र प्रभावकारी बनाउन ‘मेरोकित्ता’ एप महत्वपूर्ण कदम सावित हुने विश्वास व्यक्त गरिन्।
डिजिटल सुशासनलाई संस्थागत गर्दै नागरिकमैत्री सेवा विस्तार गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै मन्त्री रावलले आगामी दिनमा यस्ता प्रविधिमैत्री सेवाहरू थप विस्तार गरिने प्रतिबद्धता समेत जनाइन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend