सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

निजी क्षेत्रको सहभागिताले मात्र नेपाललाई अन्धकारबाट उज्यालोतर्फ ल्याएको होः अध्यक्ष कार्की

निजी क्षेत्रको सहभागिताले मात्र नेपाललाई अन्धकारबाट उज्यालोतर्फ ल्याएको होः अध्यक्ष कार्की

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको भूमिकालाई थप सशक्त बनाउँदै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले पछिल्ला तीन वर्षको उपलब्धि सार्वजनिक गरेको छ। कार्यकाल समीक्षा तथा सरकारको आगामी बजेटमाथि आयोजित कार्यक्रममा इप्पानले नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानमा निजी क्षेत्र निर्णायक शक्ति बनेको दाबी गरेको हो।

इप्पानका अध्यक्ष गणेश कार्कीले २०८० जेठ ३२ गते निर्वाचित कार्यसमितिले आफ्नो कार्यकाल पूरा गर्न लागेका बेला ऊर्जा क्षेत्रमा भएका उपलब्धिहरू प्रस्तुत गर्दै नेपालको ११५ वर्षे विद्युत् इतिहासमा हालसम्म उत्पादन भएको ४ हजार ३ सय मेगावाट विद्युत्मध्ये ३ हजार ६ सय मेगावाट निजी क्षेत्र र सर्वसाधारणको लगानीबाट उत्पादन भएको जानकारी दिए।

उनले निजी क्षेत्रलाई जलविद्युत् क्षेत्रमा प्रवेश गर्न नदिइएको भए देशले अझै पनि लामो समयसम्मको लोडसेडिङको सामना गर्नुपर्ने अवस्था रहने दाबी गरे। “निजी क्षेत्रको सहभागिताले मात्र नेपाललाई अन्धकारबाट उज्यालोतर्फ ल्याएको हो,” उनले भने।

ऊर्जा उत्पादनसँगै पूर्वाधार विकासमा पनि जलविद्युत् आयोजनाहरूको महत्वपूर्ण योगदान रहेको इप्पानको भनाइ छ। अध्यक्ष कार्कीका अनुसार निजी क्षेत्रद्वारा सञ्चालित आयोजनाहरूले हालसम्म ३ हजार ७ सय किलोमिटर सडक, ४ सय ५० किलोमिटर सुरुङ र २ सय ७० वटा पुल निर्माण गरिसकेका छन्। यस्तै १६० स्वास्थ्य संस्था, १०५ विद्यालय तथा १०७ खानेपानी आयोजनामा समेत लगानी गरिएको छ। यसले राज्यको ठूलो आर्थिक भार कम गर्न मद्दत पुगेको उनको दाबी छ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा प्रसारण लाइन विस्तारलाई प्राथमिकता दिएकोमा इप्पानले स्वागत जनाएको छ। उत्पादित विद्युत् खेर जाने समस्या समाधानका लागि प्रसारण पूर्वाधार विस्तार अपरिहार्य रहेको भन्दै कार्कीले १० मेगावाटसम्मका आयोजनालाई ‘टेक अर पे’ प्रावधानअन्तर्गत विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने निर्णय सकारात्मक कदम भएको बताए।

तर, १६ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजना अझै पीपीएको पर्खाइमा रहेकाले ती आयोजनालाई तत्काल अगाडि बढाउन सरकारसँग आग्रह गरिएको छ।

सरकारले आगामी दशकभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य लिएको छ। उक्त लक्ष्य हासिल गर्न ५० देखि ६७ खर्ब रुपैयाँसम्म लगानी आवश्यक पर्ने इप्पानको अनुमान छ। अध्यक्ष कार्कीले लगानीमैत्री वातावरण र कानुनी सुरक्षा सुनिश्चित गरिए निजी क्षेत्र उक्त लक्ष्य पूरा गर्न सक्षम रहेको बताए।

ऊर्जा क्षेत्रलाई देशको आर्थिक रूपान्तरणको आधारका रूपमा प्रस्तुत गर्दै इप्पानले आगामी १० वर्षलाई ‘ऊर्जा दशक’ घोषणा गर्न, पूर्वाधार क्षेत्रमा विशेष प्राथमिकता दिन, विभिन्न मन्त्रालयमा धाउनुपर्ने झन्झट अन्त्य गर्न, जलविद्युत् आयोजनाको लाइसेन्स अवधि ५० वर्ष कायम गर्न तथा निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिन सरकारसँग माग गरेको छ।

यसैबीच, इप्पानको आगामी साधारणसभामार्फत नयाँ नेतृत्व चयनको तयारी भइरहेको छ। अध्यक्ष कार्कीले आफ्नो कार्यकालमा इप्पानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सफल भएको दाबी गर्दै आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन हुने विश्वास व्यक्त गरे। उनले मोहन डाँगीको नेतृत्वमा आउने नयाँ कार्यसमितिले ऊर्जा क्षेत्रलाई अझ उचाइमा पुर्‍याउने अपेक्षा समेत व्यक्त गरे।

हाल ऊर्जा क्षेत्रमा ६ लाखभन्दा बढी संस्थापक सेयरधनी र १ करोडभन्दा बढी सर्वसाधारण लगानीकर्ताको सहभागिता रहेको उल्लेख गर्दै इप्पानले यो क्षेत्रले राज्यलाई वार्षिक २५ अर्ब रुपैयाँभन्दा बढी रोयल्टी प्रदान गरिरहेको जनाएको छ। संस्थाले आगामी वर्षहरूमा ऊर्जा क्षेत्र नै नेपालको आर्थिक समृद्धिको मुख्य आधार बन्न सक्ने विश्वास व्यक्त गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend