सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

संविधान परिमार्जन सभा गठन गरी नयाँ राष्ट्रिय सहमति कायम गर्न देशभक्त गठबन्धनको आह्वान

संविधान परिमार्जन सभा गठन गरी नयाँ राष्ट्रिय सहमति कायम गर्न देशभक्त गठबन्धनको आह्वान

काठमाडौं । नेपाल देशभक्त गठबन्धनले वर्तमान राजनीतिक व्यवस्था पूर्णरूपमा असफल भएको दाबी गर्दै संविधान परिमार्जन सभा गठन गरी नयाँ राष्ट्रिय सहमति कायम गर्न आह्वान गरेको छ।
स्मार्ट दरबारमा आयोजित पत्रकार सम्मेलनमा गठबन्धनका संयोजक मनमोहन  शमशेर राणाले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै देशमा शान्ति, उन्मुक्ति, आर्थिक समृद्धि र सामाजिक न्याय स्थापना गर्न नयाँ राष्ट्रिय सहमति आवश्यक रहेको बताए। उनले विगतका राजनीतिक परिवर्तन, शासन प्रणाली, संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रले जनताका अपेक्षा पूरा गर्न नसकेको दाबी गरे।
राणाले संविधान सभाको माध्यमबाट जारी गरिएको वर्तमान संविधानले मुलुकलाई निकास दिन नसकेको उल्लेख गर्दै राष्ट्रिय संकट समाधानका लागि संविधान परिमार्जन सभा गठन अपरिहार्य भएको बताए। उनले राष्ट्रियता, लोकतन्त्र र समाजवादको आधारमा विकास र समृद्धिको सुनिश्चितता गर्न नयाँ राष्ट्रिय सहमति आवश्यक रहेको धारणा राखे।
गठबन्धनले जारी गरेको विज्ञप्तिमा वैदेशिक हस्तक्षेप, विखण्डन र द्वन्द्वमुक्त नेपाल निर्माण गर्दै सुशासनमार्फत जनताले खोजेको शान्ति र समृद्धि हासिल गर्न सकिने उल्लेख गरिएको छ। विज्ञप्तिमा किरात, बौद्ध तथा वैदिक सनातन हिन्दु अधिराज्य स्थापना गर्न संविधान परिमार्जन सभा गठन गरिनुपर्ने माग पनि गरिएको छ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री शंकर भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले राष्ट्रिय सहमति र राजनीतिक संवादमार्फत मुलुकका चुनौतीहरूको समाधान खोज्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा अतिथि ऋषीबाबु परियार ले सार्वजनिक गरिएको विज्ञप्ति समयसापेक्ष र सान्दर्भिक रहेको टिप्पणी गरे। नेपाल देशभक्त गठबन्धनका प्रवक्ता इवा मिक्तोक लिम्बू ले स्वागत मन्तव्य व्यक्त गरेका थिए। झलक वाग्लेले पनि आफनो बिचार राखेका थिए ।
कार्यक्रममा संयोजक   मनमोहन शमशेर राणाले विज्ञप्ति वाचन गर्दै वर्तमान राजनीतिक संकट समाधानका लागि सबै देशभक्त शक्तिहरूलाई एकताबद्ध हुन आग्रह गरे। उनले दलगत स्वार्थभन्दा माथि उठेर संविधान परिमार्जन सभा गठनमार्फत मुलुकको भावी राजनीतिक गन्तव्य तय गर्नुपर्नेमा जोड दिए।
गठबन्धनले राष्ट्र निर्माता पृथ्वीनारायण शाह को एकीकरण अभियानको विरासत बोकेको राष्ट्रिय एकताको प्रतीक राजसंस्थाको पुनर्स्थापना आवश्यक रहेको समेत दाबी गरेको छ। पत्रकार सम्मेलनको अन्त्यमा लोकतान्त्रिक तथा राष्ट्रिय एकताका पक्षधर सम्पूर्ण नेपालीलाई राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाका लागि एकजुट हुन अपिल गरिएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend