बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङ जिल्ला अन्तर्गत गल्कोट नगर अधिवेशनबाट टेक पुन मगर केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्।
गल्कोट नगरपालिकाको पाण्डवखानीमा जन्मेर हुर्किएका पुन सफल व्यवसायी तथा समाजसेवीका रूपमा परिचित छन्। उनी हाल रास्वपा बागलुङ जिल्ला कार्यसमितिका सदस्यसमेत रहेका छन्। पार्टी संगठन विस्तार, सामाजिक गतिविधि तथा जनतासँगको निरन्तर सम्पर्कका कारण उनी बागलुङ जिल्लामा लोकप्रिय नेताका रूपमा चिनिन्छन्।
जेठ १७ गते सम्पन्न गल्कोट नगर अधिवेशनले पुनलाई सर्वसम्मत रूपमा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन गरेको हो। अधिवेशनमा सहभागी प्रतिनिधिहरूले उनको सक्रियता, संगठनप्रतिको समर्पण र नेतृत्व क्षमताको प्रशंसा गर्दै निर्विरोध चयन गरेका थिए।
निर्वाचनपछि प्रतिक्रिया दिँदै पुनले आफूलाई विश्वास गरेर जिम्मेवारी प्रदान गर्ने सम्पूर्ण पार्टी नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूप्रति आभार व्यक्त गरेका छन्। उनले पार्टीको नीति, सिद्धान्त र सुशासनको अभियानलाई थप सशक्त बनाउन आफू निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाए।
रास्वपाको केन्द्रीय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना हुँदैछ। महाधिवेशनले पार्टीको भावी कार्यदिशा, संगठन विस्तार तथा नेतृत्व चयनका विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।
गल्कोट नगर अधिवेशनबाट टेक पुन मगरको निर्विरोध चयनलाई बागलुङमा रास्वपाको संगठन सुदृढीकरण र आगामी महाधिवेशनमा जिल्लाको प्रभावकारी प्रतिनिधित्वका रूपमा हेरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend