काठमाडौं । “दुग्ध क्षेत्रको दिगो विकासः पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार” भन्ने मूल नारासहित विश्व दूध दिवस २०८३ सोमबार काठमाडौंमा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।
राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजनामा भएको कार्यक्रममा कृषि बन तथा पर्यावरण मन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी भइन्। कार्यक्रममा कृषि बन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्र, पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल, कृषि विभागका महानिर्देशक प्रकाशकुमार सन्जेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सोमकान्त रिजाल, दुग्ध विकास संस्थानका महाप्रबन्धक शरण कुमार पाण्डे लगायत सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गीता चौधरीले दुग्ध क्षेत्र ग्रामीण अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै किसानको उत्पादनलाई बजारसँग जोड्न, दुग्धजन्य वस्तुको गुणस्तर अभिवृद्धि गर्न तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा दुग्ध क्षेत्रको योगदानलाई थप सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको बताइन्। सचिव डा. राजेन्द्र प्रसाद मिश्रले दुग्ध उत्पादन वृद्धि, पशु स्वास्थ्य सेवा विस्तार तथा आधुनिक प्रविधिको प्रयोगमार्फत यस क्षेत्रलाई प्रतिस्पर्धी बनाउने आवश्यकता औंल्याए। उनले दुग्ध क्षेत्रमा देखिएका चुनौती समाधानका लागि सरकार, निजी क्षेत्र र सहकारीबीचको सहकार्य अपरिहार्य रहेको धारणा राखे।
कार्यक्रमका अध्यक्ष तथा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. बालक चौधरीले दुग्ध क्षेत्रले पोषण सुरक्षा, रोजगारी सिर्जना र आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उत्पादनदेखि प्रशोधन र बजारीकरणसम्मको सम्पूर्ण मूल्य शृंखलालाई बलियो बनाउनुपर्ने बताए। कार्यक्रममा दुग्ध क्षेत्रको विकास, पोषण सुरक्षामा दूध तथा दुग्धजन्य पदार्थको भूमिका, किसानको आय वृद्धि, सहकारी र निजी क्षेत्रको योगदान तथा उपभोक्ताको स्वास्थ्यसँग सम्बन्धित विषयमा छलफल गरिएको थियो। विभिन्न डेरी उद्योग, सहकारी संस्था तथा विज्ञहरूले दुग्ध क्षेत्रको दिगो विकासका लागि नीति, प्रविधि र लगानी विस्तारमा जोड दिएका थिए।यस अवसरमा दुग्ध क्षेत्रका वरिष्ठ विज्ञ बाबुकाजी पन्त लाई विशेष सम्मान प्रदान गरिएको थियो। दुग्ध उत्पादन, अनुसन्धान तथा क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा डेरी उद्योगी, सहकारीकर्मी, पशु चिकित्सक, प्राविधिक, कृषि पत्रकार तथा दुग्ध व्यवसायसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रम अन्त्यमा दुग्ध क्षेत्रको समग्र विकासका लागि सरकारी, निजी तथा सहकारी क्षेत्रबीच थप समन्वय र सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।
विश्व दूध दिवसको अवसरमा आयोजित कार्यक्रमले दुग्ध क्षेत्रको महत्वबारे जनचेतना अभिवृद्धि गर्नुका साथै किसान, उद्योग र उपभोक्ताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन योगदान पुर्याएको विश्वास व्यक्त गरिएको छ। राष्टिय दुग्ध बिकास बोर्डका प्रशासन निर्देशक बिदुर राईले कार्यक्रमको संचालन गरेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend