काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले पछिल्ला वर्षमा नेपालको उपभोग्य वस्तुको माग घटेको समयमा अर्थतन्त्र चलायमान हुने गरी बजेट आएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटपछिको अन्तरक्रियामा निजी क्षेत्रको मनोबल बढाउने गरी बजेट आएको उनले बताएका हुन् । अध्यक्ष पाण्डेले नेपालको अर्थतन्त्रलाई नयाँ दिशा दिने गरी बजेट आएको बताए ।
‘निजी क्षेत्रको मनोबल बढाउने र अर्थतन्त्रलाई चलायमान बनाउने गरी बजेट आएको छ,’ उनले भने, ‘अहिले बजारमा माग बढ्न नसकेकोमा बजेटका कार्यक्रमले यसलाई सम्बोधन गर्ने देखिन्छ।’
सरकारले २६० वस्तुमा हटाएको अन्तःशुल्कले कस्ट अफ बिजनेस घटाउने उनले बताए। उद्योग परिसंघले माग गर्दै आएको आयकर ऐनको दफा ५७ को संशोधन स्वागतयोग्य भएको उनले बताए।
‘कर विवाद समाधान र लगानीसम्बन्धी दर्जनौँ कानुन संशोधनले निजी क्षेत्रलाई प्रोत्साहन गर्नेछ,’ उनी भन्छन्, ‘मोतीपुर र मयूरधामजस्ता औद्योगिक क्षेत्र निर्माण निजी क्षेत्रलाई दिने विषय आएको छ। यो हामीले मागेकै विषय हो।’
सरकारले बजेटमार्फत वन, खानी र प्रकृतिमा आधारित उद्योग बढाउने नीति लिएकाले उत्पादनमूलक उद्योग बढाउन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।
बजेटले निजी क्षेत्रका धेरै विषय सम्बोधन गरे पनि केही माग सम्बोधन नभएको उनले बता ए। उनले भारतलगायतका देशबाट आयातित वस्तुमा गुणस्तर मापदण्ड लागू गर्ने माग गरे पनि बजेटमा उल्लेख नभएको बताए ।
निजी क्षेत्रबाट लामो समयदेखि उत्पादनमूलक उद्योगमा हदबन्दी नलाग्ने माग हुँदै आएको थियो। यो विषय सम्बोधन हुन सकेको छैन।
डेटा माइनिङलगायत प्राविधिक उद्योगको विषयमा अझै स्पष्ट नभएको उनले बताए । परिसंघले कृषि क्षेत्रको विकासका लागि कोल्ड स्टोरेज र बजारीकरणका लागि चेन निर्माणसम्बन्धी थप कार्यक्रमको अपेक्षा गरेको बताएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend