काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का उपाध्यक्ष रबिन्स शर्माले शिक्षा, स्वास्थ्य तथा दैनिक उपभोगका क्षेत्रमा करको भार बढाइएको भन्दै सरकारको नीति–नियमविरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उपाध्यक्ष शर्माले शिक्षा, स्वास्थ्य र भान्सासँग प्रत्यक्ष सम्बन्धित क्षेत्रमा कर लगाउने सरकारी नीतिप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। उनले जनताको आधारभूत आवश्यकता नै करको मारमा परेको आरोप लगाउँदै अब यस्तो नीतिको विरोधमा अवज्ञा आन्दोलन सञ्चालन गरिने बताएका छन्।
उनले आफ्नो पोस्टमा “शिक्षामा कर, स्वास्थ्यमा कर, भान्सामा कर, अब यो सरकारको लागेन भर” भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका छन्। साथै शिक्षा, स्वास्थ्य र भान्सासँग सम्बन्धित करको व्यवस्थाविरुद्ध आफूहरू संगठित रूपमा आन्दोलनमा जाने तयारीमा रहेको उल्लेख गरेका छन्।
शर्माले शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रलाई करको दायरामा ल्याउँदा आम नागरिक, विद्यार्थी, अभिभावक तथा सेवा प्रदायक सबै प्रभावित हुने दाबी गरेका छन्। सरकारले राजस्व वृद्धि गर्ने नाममा जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा करको बोझ थपेको भन्दै उनले यसलाई पुनर्विचार गर्न आग्रह गरेका छन्।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न क्षेत्रमा कर सम्बन्धी व्यवस्था सार्वजनिक गरेपछि निजी क्षेत्र, व्यवसायी तथा विभिन्न सरोकारवाला समूहबाट मिश्रित प्रतिक्रिया आइरहेका बेला प्याब्सन नेतृत्वबाट पनि खुला असन्तुष्टि व्यक्त भएको हो।
शिक्षा, स्वास्थ्य तथा उपभोग्य वस्तुसम्बन्धी कर नीतिको पुनरावलोकन नभए थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने संकेत समेत शर्माले दिएका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend