काठमाडौं । पूर्वी नेपालको पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने लक्ष्यसहित अघि बढाइएको तिनजुरे केबलकार परियोजना पर्यटन विकासको महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरिएको छ। तिनजुरे केबलकार प्रालिका अध्यक्ष तेजेन्द्र सुब्बाले परियोजनाबारे जानकारी दिँदै यसले तेह्रथुम र संखुवासभा जिल्लाको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्याउने बताए।
प्रदेश नम्बर १ अन्तर्गत तेह्रथुमको लालिगुराँस नगरपालिका र संखुवासभाको धर्मदेवी नगरपालिकामा अवस्थित तिनजुरे क्षेत्रलाई लक्षित गरी निर्माण गर्न लागिएको केबलकार परियोजनाको अनुमानित लागत १६० करोड रुपैयाँ रहेको छ। करिब दुई किलोमिटर लम्बाइको यो केबलकार स्थानीय लगानीमा निर्माण गरिने योजना रहेको अध्यक्ष सुब्बाले जानकारी दिए।
उनका अनुसार तिनजुरे क्षेत्र “लालिगुराँसको राजधानी” का रूपमा परिचित छ, जहाँ करिब २८ प्रजातिका लालिगुराँस पाइन्छन्। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रबाट मकालु, कञ्चनजङ्घा र कुम्भकर्ण हिमश्रृंखलाको मनोरम दृश्यावलोकन गर्न सकिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ।
अध्यक्ष सुब्बाले परियोजना सञ्चालनमा आएपछि दैनिक दुई हजार पाँच सयभन्दा बढी तथा वार्षिक करिब नौ लाख पर्यटकले भ्रमण गर्ने अनुमान गरिएको बताए। यसबाट स्थानीय स्तरमा रोजगारी सिर्जना हुनुका साथै होटल, रिसोर्ट, होमस्टे, क्याफे तथा अन्य पर्यटनसँग सम्बन्धित व्यवसायको विकास हुने विश्वास गरिएको छ।

परियोजनाको दीर्घकालीन दृष्टिकोण तिनजुरे क्षेत्रलाई नेपालको प्रमुख प्राकृतिक तथा साहसिक पर्यटन गन्तव्यका रूपमा विकास गर्नु रहेको छ। यसका साथै दिगो पर्यटन प्रवर्द्धन, प्राकृतिक सम्पदाको संरक्षण, स्थानीय समुदायको आर्थिक तथा सामाजिक स्तर उकास्ने र पर्यटकलाई सुरक्षित तथा आधुनिक सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ।
तिनजुरे क्षेत्रका मुख्य आकर्षणहरूमा चौतलुङ पार्क, बसन्तपुर, आरआर गार्डेन, सानो पाथीभरा मन्दिर, तिनजुरे गुफा पदमार्ग, लिम्बु समुदायको धार्मिक तथा सांस्कृतिक स्थल मेन्छयायेम, स्काई वाक तथा ग्लास वाक रहेका छन्। साथै एउटै स्थानबाट सात जिल्लाको मनोरम दृश्यावलोकन गर्न सकिने विशेषता पनि यस क्षेत्रको आकर्षण बनेको छ।
परियोजनाले अरुण, बरुण तथा आसपासका हिमनदी क्षेत्रको अवलोकनका साथै हिमाली सौन्दर्यको अनुभव दिलाउने भएकाले भारत तथा पूर्वी नेपालका पर्यटकलाई विशेष रूपमा आकर्षित गर्ने अपेक्षा गरिएको छ। स्थानीय उत्पादनको बजारीकरण तथा ग्रामीण पर्यटनको विकासमा समेत परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
अध्यक्ष सुब्बाले तिनजुरे केबलकार परियोजना केवल एउटा पूर्वाधार आयोजना मात्र नभई पूर्वी नेपालको पर्यटन, रोजगारी र आर्थिक समृद्धिको अभियान भएको बताए। उनले स्थानीय समुदाय, लगानीकर्ता तथा सरोकारवाला निकायलाई परियोजनामा सहकार्य गर्न आग्रह गर्दै “अनुभव गरौं, घुमौं, लगानी गरौं” भन्ने नारासहित परियोजना अघि बढाइएको जानकारी दिए।
उनका अनुसार तिनजुरे केबलकार परियोजना सम्पन्न भएपछि पूर्वी नेपालको पर्यटन क्षेत्रले नयाँ गति प्राप्त गर्ने र नेपाललाई विश्व पर्यटन नक्सामा थप सशक्त रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्नेछ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend