सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघको छैठौं महाधिवेशन उदघाटन सत्र सम्पन्न, स्वदेशी उत्पादन प्रवर्द्धनमा जोड

नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघको छैठौं महाधिवेशन उदघाटन सत्र सम्पन्न, स्वदेशी उत्पादन प्रवर्द्धनमा जोड

काठमाडौँ । नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघको एघारौं वार्षिक साधारण सभा तथा छैठौं महाधिवेशन शनिबार काठमाडौँको सुकेधारास्थित नवदुर्गा पार्टी भेन्युमा सम्पन्न भएको छ। महासंघका अध्यक्ष युवराज पौडेलको सभापतित्वमा आयोजित कार्यक्रममा देशभरका फर्निचर तथा फर्निसिङ्ग व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल ले गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटको आकार वृद्धि हुनु सकारात्मक पक्ष भएको बताए। उनले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढे मात्र अर्थतन्त्रलाई चलायमान बनाउन सकिने उल्लेख गर्दै वर्तमान आर्थिक चुनौतीका बीच सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।
उनले फर्निचर उद्योग नेपालको महत्वपूर्ण उत्पादनमूलक क्षेत्र भएको बताउँदै यस क्षेत्रको बजार र माग आगामी दिनमा अझ विस्तार हुने विश्वास व्यक्त गरे। स्वदेशमै रोजगारी सिर्जना, उत्पादन वृद्धि र आयात प्रतिस्थापनमा फर्निचर उद्योगले महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने उनको भनाइ थियो।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका बस्तुगत उपाध्यक्ष नरेश लाल श्रेष्ठ ले बजेटले निजी क्षेत्रलाई केही हदसम्म हौसला प्रदान गरेको बताए। उनले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याउँदै नेपाली उद्योगको संरक्षण र प्रवर्द्धनका लागि सरकारी नीतिहरू थप प्रभावकारी हुनुपर्ने धारणा राखे। विदेशी वस्तुको बढ्दो प्रतिस्पर्धाका बीच स्वदेशी उत्पादनको प्रयोग र प्रवर्द्धनले राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउने उनको भनाइ थियो।
उद्घाटन सत्रमा विभिन्न अतिथि तथा विशेष अतिथिहरूले फर्निचर उद्योगको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे आ-आफ्ना धारणा राखेका थिए। उनीहरूले उद्योगमैत्री नीति, सहज वित्तीय पहुँच, कच्चा पदार्थको व्यवस्थापन तथा स्वदेशी उत्पादनको बजारीकरणमा सरकारको विशेष ध्यान जानुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमका क्रममा महासंघका विभिन्न पदाधिकारी, व्यवसायी तथा क्षेत्रको विकासमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई प्रमाणपत्र तथा सम्मानपत्र प्रदान गरिएको थियो। सम्मानित व्यक्तिहरूको योगदानको प्रशंसा गर्दै वक्ताहरूले उद्योग क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका थिए।
कार्यक्रमको अन्त्यमा महासंघका वरिष्ठ उपाध्यक्षआोम बहादुरबस्नेतले धन्यवाद गर्दै उद्घाटन सत्रको समापन गरेका थिए। महाधिवेशनले संगठन सुदृढीकरण, व्यवसायिक एकता तथा फर्निचर तथा फर्निसिङ्ग क्षेत्रको विकासका लागि आगामी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको महासंघले जनाएको छ। कार्यक्रमको संचालन महासंघका महासचिव  छबिलाल गैरेले गरेका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend