सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

हावाहुरीबाट पाण्डबखानीमा ठूलो क्षति, पीडितलाई राहत दिन टेक पुन मगरको आग्रह

हावाहुरीबाट पाण्डबखानीमा ठूलो क्षति, पीडितलाई राहत दिन टेक पुन मगरको आग्रह

बाग्लुङ । बाग्लुङ जिल्लाको गल्कोट नगरपालिका–१० पाण्डबखानीमा २०८३ साल जेठ ११ गते अकस्मात आएको भीषण हावाहुरीका कारण घर, टहरा तथा अन्नबालीमा ठूलो क्षति पुगेको छ । प्राकृतिक विपत्तिपछि स्थानीयवासी प्रभावित बनेका छन् भने धेरै परिवार समस्यामा परेका छन् ।

यस घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाग्लुङ जिल्ला कार्यसमिति सदस्य टेक पुन मगरले दुःख व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत पीडित परिवारप्रति गहिरो सहानुभूति प्रकट गर्दै यस्तो विपत्तिको समयमा सबै पक्ष संवेदनशील बन्नुपर्ने बताउनुभएको छ ।

पुन मगरले हावाहुरीका कारण प्रभावित बनेका परिवारलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गर्नुभएको छ । उहाँले स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायहरूलाई प्रभावित क्षेत्रको यथाशीघ्र स्थलगत अनुगमन गरी पीडितहरूको वास्तविक अवस्था बुझ्न र आवश्यक सहयोग पुर्‍याउन अनुरोध गर्नुभएको हो ।

स्थानीयवासीका अनुसार हावाहुरीले केही घरका छाना उडाएको, टहरा भत्काएको तथा पाक्न लागेको अन्नबालीमा समेत क्षति पुर्‍याएको छ । प्राकृतिक विपत्तिपछि स्थानीयवासी त्रसित बनेका छन् । पीडित परिवारले राहत तथा पुनःस्थापनाका लागि राज्यको ध्यानाकर्षण गराएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend