सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल रोमानिया बिजनेश फोरम तथा आरएमजी क्षेत्र सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल रोमानिया बिजनेश फोरम तथा आरएमजी क्षेत्र सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल र रोमानियाबीच व्यापारिक तथा औद्योगिक सहकार्य विस्तार गर्ने उद्देश्यसहित “नेपाल–रोमानिया बिजनेस फोरम तथा आरएमजी क्षेत्र सम्बन्धी अन्तरक्रिया कार्यक्रम” सोमबार काठमाडौंको दुषित प्रिन्स होटेलमा मा सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल–रोमानिया चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिको औपचारिक शुभारम्भ गर्दै दुई देशबीच लगानी, व्यापार, रेडिमेड गार्मेन्ट (आरएमजी) उद्योग, पर्यटन तथा आर्थिक सहकार्यका विविध सम्भावनाबारे छलफल गरिएको थियो ।
कार्यक्रम दिउँसो दर्ता तथा स्वागतसँगै सुरु भएको थियो । राष्ट्रिय गानपछि नेपाल गार्मेन्ट एसोसिएसनका अध्यक्ष पशुपति देव पाण्डेयले स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल र रोमानियाबीच निजी क्षेत्रको सहकार्यले नयाँ आर्थिक अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यसपछि पारम्परिक मंगलधुनसहित दीप प्रज्वलन गरिएको थियो । कार्यक्रमकै क्रममा नेपाल–रोमानिया चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिको लोगो सार्वजनिक गर्दै संस्थाको औपचारिक उद्घाटन गरिएको थियो ।
नेपाल–रोमानिया चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिकी अध्यक्ष बबिता पाण्डेयले नेपाल र रोमानियाबीच व्यापारिक सम्बन्ध विस्तार, लगानी प्रवर्द्धन तथा उद्यमशीलता विकासका लागि चेम्बरले पुलको भूमिका खेल्ने बताउनुभयो । उहाँले नेपाली उत्पादनलाई युरोपेली बजारसम्म पुर्‍याउन तथा रोमानियाली लगानीलाई नेपाल भित्र्याउन पहल गरिने उल्लेख गर्नुभयो ।
रोमानिया चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिकी प्रतिनिधि निकोलेटा इओना सिउफुडियनले दुई देशबीच सहकार्यका प्रशस्त सम्भावना रहेको बताउँदै विशेषगरी गार्मेन्ट, कृषि प्रशोधन, सूचना प्रविधि तथा पर्यटन क्षेत्रमा संयुक्त लगानी गर्न सकिने धारणा राख्नुभयो ।
कार्यक्रममा गौरव बजाजले प्रस्तुति दिनुभएको थियो भने रोमानिया र नेपालको सम्भावना झल्काउने भिडियो प्रस्तुति समेत प्रदर्शन गरिएको थियो । त्यसपछि सहभागी व्यवसायी तथा प्रतिनिधिबीच परिचयात्मक तथा अन्तरक्रिया सत्र सञ्चालन गरिएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का प्रतिनिधिले नेपाल–रोमानिया व्यापार सम्बन्धलाई संस्थागत रूप दिन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
त्यस्तै नेपालका लागि रोमानियाका राजदूतले दुई देशबीच कूटनीतिक तथा आर्थिक सम्बन्ध अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले नेपालमा विदेशी लगानी आकर्षित गर्न यस्ता व्यावसायिक मञ्च प्रभावकारी हुने धारणा राख्नुभयो ।
कार्यक्रमको अन्त्यमा अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । नेपाल गार्मेन्ट एसोसिएसनका प्रथम उपाध्यक्ष बसन्तराज अधिकारीले धन्यवाद ज्ञापन गर्दै नेपाल र रोमानियाबीच दीर्घकालीन आर्थिक साझेदारी निर्माणमा कार्यक्रम महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend