सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतमा सम्मानित

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतमा सम्मानित

काठमाडौँ । सुदर्शन राजोपाध्याय फेरि एकपटक अन्तरराष्ट्रिय मञ्चमा नेपालको सङ्गीतिक पहिचान उजागर गर्न सफल भएका छन् । भारतीय सांगीतिक नगरी पुणेमा आयोजित भारत उत्सव २०२६ मा उहाँलाई प्रतिष्ठित ‘कलाक्षेत्रम’ पुरस्कारबाट सम्मान गरिएको हो । महाराष्ट्रस्थित अखिल लोककला कल्चरल अर्गनाइजेसनले आयोजना गरेको उक्त महोत्सवमा हजारौँ कलाकारबीच नेपाली कलाकारको उपस्थिति मात्र होइन, सम्मानसमेत प्राप्त हुनु नेपाली शास्त्रीय सङ्गीतका लागि गौरवको विषय बनेको छ ।

मे १६ देखि २२ तारिखसम्म सञ्चालन भएको उत्सवमा भारतका विभिन्न राज्यबाट आएका करिब तीन हजार ५०० कलाकारले भारतनाट्यम, कत्थक, लोकनृत्य तथा विविध सांगीतिक प्रस्तुति दिएका थिए । यति ठूलो अन्तरराष्ट्रिय सांस्कृतिक भेलामा राजोपाध्यायलाई निर्णायकको भूमिकामा निमन्त्रणा गरिनु स्वयंमा उहाँको सांगीतिक उचाइको प्रमाण मानिएको छ । कार्यक्रममा निर्णायकको जिम्मेवारी निर्वाह गरिरहेकै बेला आयोजकले उहाँलाई ‘कलाक्षेत्रम’ पुरस्कार प्रदान गर्दै सम्मान गरेको हो ।

आयोजक संस्थाका महासचिव डा। प्रमोद नानवरेले नेपाली कलाकारले दक्षिण एशियाली सांगीतिक क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान प्रदान गरिएको बताएका छन् । विशेषगरी सरोदवादनमार्फत नेपाली मौलिकता र शास्त्रीय परम्परालाई अन्तरराष्ट्रिय दर्शकमाझ चिनाउन राजोपाध्यायले खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गरिएको थियो ।

सुदर्शन राजोपाध्याय लामो समयदेखि नेपालका कला, सङ्गीत र संस्कृतिलाई सीमापार पुर्‍याउने अभियानमा सक्रिय रहँदै आएका कलाकार हुन् । यसअघि पनि भारतका विभिन्न राज्यमा आयोजित कार्यक्रममा उहाँले ‘सुरताल अन्तरराष्ट्रिय सम्मान पुरस्कार–२०२५’, ‘विविधता मे एकता राष्ट्रिय सम्मान–२०२०’, ‘इन्डियन बेस्टिज अवार्ड–२०१९’ तथा पश्चिम बङ्गाल सरकारबाट ‘सङ्गीतमञ्जरी’ उपाधि प्राप्त गरिसक्नुभएको छ । सन् २०१५ मा गुजरातमा आयोजित ‘सुरिल साँझ’ कार्यक्रममा उहाँलाई ‘स्वर्णपत्र’बाट समेत सम्मान गरिएको थियो ।

नेपालभित्र पनि उहाँको योगदान उत्तिकै चर्चित छ । रेडियो नेपालले २००२ मा आयोजना गरेको जिल्लाव्यापी सङ्गीत प्रतियोगितामा प्रथम स्थान हासिल गरेका उहाँले ‘शास्त्र सम्मान–२०१८’, ‘सेभ दी नेसन अवार्ड’ लगायत विभिन्न राष्ट्रिय सम्मान प्राप्त गरिसक्नुभएको छ ।

सरोदवादनसँगै उहाँका नेपाली तथा नेपाल भाषाका गीत–सङ्गीतका एल्बम पनि लोकप्रिय छन् । ‘पलपल’, ‘पानीसरी’, ‘त्यो रात’, ‘नसला’, ‘हसना’, ‘छन्हुनिन्हू’ जस्ता सिर्जनादेखि शास्त्रीय सङ्गीतमा आधारित ‘वनडे रागाज’, ‘सोलफुल म्युजिक फर मेडिटेसन’ लगायतका कृतिले उहाँलाई फरक पहिचान दिलाएको छ । भारतीय बजारमा समेत उहाँका सांगीतिक एल्बम प्रकाशित हुनु नेपाली कलाकारको अन्तरराष्ट्रिय पहुँच विस्तारको उदाहरणका रूपमा हेरिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend