काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारण सभा बुधबार काठमाडौंस्थित नेपाल पुलिस क्लबमा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष कुनाल कायलको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/०८२ का विभिन्न वित्तीय तथा व्यवस्थापकीय प्रस्तावहरू पारित गरेको हो।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन छलफलसहित पारित गरिएको कम्पनीले जनाएको छ। साथै लेखापरीक्षण प्रतिवेदनसहित आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू पनि पारित भएका छन्।
साधारण सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८२/०८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत स्वीकृत गरेको छ।
त्यसैगरी सञ्चालक समितिबाट प्रस्ताव गरिएको हाल कायम चुक्ता पूँजी दुई अर्ब १५ करोड रुपैयाँको ०.२६३२ प्रतिशत दरले हुन आउने ५६ लाख ५७ हजार ८९५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ।
विशेष प्रस्तावअन्तर्गत कम्पनीको हाल कायम चुक्ता पूँजीको ३ प्रतिशतका दरले १० करोड ७५ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरिएको छ।
सभाले कम्पनी ऐनको दफा १०५ को उपदफा १(ग) बमोजिम आर्थिक वर्ष २०८१/०८२ मा भएको खर्चको अनुमोदन गरेको छ। साथै सातौं वार्षिक साधारण सभाबाट पारित १७ प्रतिशत हकप्रद शेयर बमोजिम हुन आउने ३६ लाख ५५ हजार कित्ता शेयर तथा बोनस शेयर जारीपछिको चुक्ता पूँजीसम्बन्धी विवरण पुनरावलोकन गर्न, आवश्यक संशोधन गर्न तथा नियामक निकायबाट निर्देशन प्राप्त भएअनुसार प्रबन्धपत्र तथा नियमावलीमा परिवर्तन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरिएको कम्पनीले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend