सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो महाधिवेशन जेठ १ र २ गते काठमाडौंमा हुँदै

नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो महाधिवेशन जेठ १ र २ गते काठमाडौंमा हुँदै

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन तथा पाँचौँ साधारणसभा आगामी जेठ १ र २ गते काठमाडौंमा आयोजना हुने भएको छ। महासंघले बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत महाधिवेशनको तयारी पूरा भएको जानकारी दिएको हो।
महासंघका महासचिव सन्तोष घिमिरेले देशभरका मोबाइल व्यवसायीहरूको साझा छाता संगठनका रूपमा महासंघले सातै प्रदेश र ५० जिल्लामा शाखा विस्तार गरिसकेको जानकारी दिए। उनका अनुसार हाल महासंघमा २७ हजार ४०० साधारण सदस्य आबद्ध रहेका छन् भने सदस्य संख्या निरन्तर बढिरहेको छ।
महाधिवेशनका लागि देशभरबाट करिब १५ सय प्रतिनिधि काठमाडौं आउने क्रममा रहेको महासंघले जनाएको छ। सुदूरपश्चिम, कर्णालीदेखि पूर्वी जिल्लासम्मका प्रतिनिधिहरू लामो यात्रा तय गर्दै काठमाडौं आइरहेको जानकारी दिइएको छ।
महाधिवेशनबाट ५१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरिनेछ। महासंघको विधानअनुसार अध्यक्ष, निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, चार सचिवमध्ये एक महिला सहित तीन खुला सचिव तथा एक सहकोषाध्यक्ष निर्वाचित हुने व्यवस्था रहेको छ।
त्यस्तै प्रत्येक प्रदेशबाट दुई जनाका दरले १४ केन्द्रीय सदस्य, १४ संस्थापक संस्थाबाट एक/एक जना प्रतिनिधि, बागमती प्रदेशबाट थप पाँच सदस्य तथा अध्यक्षबाट समावेशीताका आधारमा मनोनीत पाँच सदस्य कार्यसमितिमा रहने व्यवस्था गरिएको महासंघले जनाएको छ।
महाधिवेशनको उद्घाटन कार्यक्रम जेठ २ गते बिहान ९ बजे काठमाडौंको राष्ट्रिय सभागृह मा हुने तय गरिएको छ। त्यसअघि जेठ १ गते बिहान ९ बजे भक्तपुरको कौशलटारस्थित ह्वाइट पार्टी प्यालेस मा बन्दसत्र सञ्चालन हुनेछ।
महासंघका अध्यक्ष भरत भट्टराईले मोबाइल व्यवसाय क्षेत्रका समस्या राज्यसमक्ष पुर्‍याउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे। उनले विगतदेखि प्राप्त सहयोगप्रति सञ्चारकर्मीहरूप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्यको अपेक्षा गरिएको बताए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend