सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

निजी क्षेत्रलाई सुरक्षित र सम्मानित बनाउँदै आर्थिक सुधारको नेतृत्व गर्न अध्यक्ष ढकालको आह्वान

निजी क्षेत्रलाई सुरक्षित र सम्मानित बनाउँदै आर्थिक सुधारको नेतृत्व गर्न अध्यक्ष ढकालको आह्वान

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सुरक्षित, सम्मानित र सक्षम बनाउँदै आर्थिक सुधारको नेतृत्व गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

उद्घाटन मन्तव्य राख्दै अध्यक्ष ढकालले महासंघको ६० वर्षे यात्रा केवल समयको गणना नभई नेपालको आर्थिक इतिहासमा संघर्ष, सहकार्य र प्रतिबद्धताले निर्माण गरेको सुदृढ आधार भएको बताए। “यो यात्रा राष्ट्रिय उद्यमशीलताको प्रतीक मात्र होइन, आर्थिक रूपान्तरणको मार्गदर्शक पनि हो,” उनले भने।

उनले महासंघले विगतका राजनीतिक अस्थिरता, प्राकृतिक विपत्ति तथा आर्थिक संकटका बीच पनि निजी क्षेत्रको आवाजलाई सशक्त बनाउँदै उद्योग, व्यापार र लगानीको वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

अध्यक्ष ढकालले हाल देशमा झण्डै दुई तिहाइको स्थायी सरकार गठन हुनु आर्थिक सुधारका लागि ऐतिहासिक अवसर भएको बताउँदै निजी क्षेत्र प्रवर्द्धन एवं संरक्षण रणनीति (PSPP) लागू गर्ने निर्णय स्वागतयोग्य रहेको बताए। यसले निजी क्षेत्रलाई भौतिक मात्र नभई नीतिगत सुरक्षा पनि प्रदान गर्ने उनको विश्वास छ।

उनका अनुसार महासंघकै पहलमा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सिफारिस कार्यान्वयनतर्फ सरकार अघि बढेको छ, जसले कानुनी सुधार र लगानीमैत्री वातावरण निर्माणमा सहयोग पुर्‍याउनेछ।

अध्यक्ष ढकालले नेपालमा युवा जनसंख्या ठूलो अवसर भएको उल्लेख गर्दै रोजगारी सिर्जनामा जोड दिए। “प्रत्येक वर्ष करिब पाँच लाख युवा श्रम बजारमा प्रवेश गर्छन् तर पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा ठूलो संख्यामा विदेशिन बाध्य छन्,” उनले भने।

उनले निजी क्षेत्रले हाल ८६ प्रतिशत रोजगारी प्रदान गरिरहेको उल्लेख गर्दै लगानी वृद्धि र उद्योग विस्तारमार्फत उच्च ज्यालायुक्त रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याए।

अर्थतन्त्रको सुस्त वृद्धिदर, न्यून विदेशी लगानी र नीतिगत अस्थिरता चुनौतीका रूपमा रहेको उल्लेख गर्दै उनले दोस्रो चरणको आर्थिक सुधार तत्काल कार्यान्वयन गर्न आग्रह गरे। ऊर्जा, कृषि, पर्यटन र खनिज क्षेत्रको सम्भावना उपयोग गर्दै अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

ढकालले महासंघको पहलमा १० अर्ब रुपैयाँ चुक्ता पुँजीसहित ‘नेपाल डेभलेपमेन्ट पब्लिक लिमिटेड’ स्थापना भई काम सुरु भइसकेको जानकारी दिँदै स्वदेशी पुँजीमार्फत ठूला आयोजना सञ्चालन गर्न सकिने सन्देश दिन खोजिएको बताए।

विदेशी लगानी आकर्षित गर्न सुशासन अत्यावश्यक रहेको उल्लेख गर्दै उनले प्रविधिको उच्चतम प्रयोग र सदाचार प्रवर्द्धनमार्फत पारदर्शी प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिए। “नागरिक एपमार्फत व्यवसाय दर्तादेखि सम्पूर्ण सेवा प्रवाह गर्न सकिने व्यवस्था विकास गर्नुपर्छ,” उनले सुझाव दिए।

उनले आगामी बजेटलाई आर्थिक सुधारको प्रस्थानविन्दु बनाउनु पर्ने उल्लेख गर्दै निजी क्षेत्रलाई सम्मान गर्ने वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गरे। साथै, निजी क्षेत्रले पनि उपभोक्ता र समाजप्रति जिम्मेवार हुँदै अघि बढ्नुपर्ने बताए।

अध्यक्ष ढकालले विगतका संकटहरू भूकम्प र कोरोना महामारीबाट पाठ सिक्दै सकारात्मक सोच र सिर्जनात्मक कार्यमार्फत अघि बढ्न व्यवसायीहरूलाई आह्वान गरे। “हामीसँग चुनौतीलाई अवसरमा बदल्ने क्षमता छ, त्यसैले भविष्य अझ उज्ज्वल हुनेमा म विश्वस्त छु,” उनले भने।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend