सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एफएनसीसीआई निर्वाचन : महिला उद्यमशीलता र समावेशी नेतृत्वका लागि सुष्मा महराको अभियान तीव्र

एफएनसीसीआई निर्वाचन : महिला उद्यमशीलता र समावेशी नेतृत्वका लागि सुष्मा महराको अभियान तीव्र

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचन नजिकिँदै जाँदा जिल्ला–नगर महिला कोटातर्फ केन्द्रीय कार्यकारिणी सदस्य पदकी उम्मेदवार सुष्मा महरा श्रेष्ठको चुनावी अभियान तीव्र बनेको छ। महिला उद्यमशीलता, समावेशी नेतृत्व र व्यावसायिक रूपान्तरणलाई मुख्य एजेन्डा बनाउँदै महराले देशभरका मतदातामाझ आफ्नो उपस्थितिलाई सशक्त बनाउँदै लगेकी छिन्।

उद्योग क्षेत्रमा महिलाको सहभागिता बढाउने, समान अवसर सुनिश्चित गर्ने र साना तथा मझौला उद्योग (एसएमई) लाई प्रोत्साहन गर्दै महिला उद्यमशीलता विकासमा जोड दिने उनको प्रमुख प्राथमिकता रहेको छ। साथै उद्योगभित्र हुने भेदभाव, उत्पीडन र असमानता अन्त्यका लागि सक्रिय पहल गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेकी छिन्।

महराले सीप विकास, तालिम र रोजगारी सिर्जनामार्फत महिलालाई आत्मनिर्भर बनाउने, स्वदेशी उत्पादन प्रवर्द्धन गर्दै आर्थिक सशक्तीकरणमा महिलाको भूमिका मजबुत बनाउने तथा वातावरणमैत्री र दिगो उद्योग विकासमा नयाँ प्रविधिको उपयोग बढाउने लक्ष्य अघि सारेकी छिन्।

काठमाडौं उद्योग वाणिज्य संघकी सचिव तथा ‘फेसियल हाउस’की प्रबन्ध निर्देशकका रूपमा परिचित महराले करिब दुई दशकदेखि व्यावसायिक क्षेत्रमा सक्रिय रहँदै सयौँ महिलालाई रोजगारी र हजारौँलाई सीपमूलक तालिम उपलब्ध गराउँदै आएकी छिन्। उनको अनुभव र नेतृत्व क्षमताले महासंघभित्र ‘परिवर्तन र व्यावसायिक कुशलता’को सन्देश दिने विश्वास समर्थकहरूले व्यक्त गरेका छन्।

महराले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत जित नभई समग्र महिला उद्यमीहरूको साझा आवाजको रूपमा व्याख्या गर्दै ‘मेरो उम्मेदवारी पदका लागि होइन, परिवर्तनका लागि हो’ भन्ने नारासहित मतदातासँग समर्थन मागिरहेकी छिन्।

उनका पाँच मुख्य सङ्कल्पहरूमा महिला उद्यमीहरूको आर्थिक समृद्धि, नीतिगत समस्याहरूको प्रभावकारी उठान, जिल्ला–नगर व्यवसायीहरूको आवाजको प्रतिनिधित्व, सीप र अवसर विस्तार तथा उद्यममैत्री नीति निर्माणका लागि निरन्तर पैरवी रहेका छन्।

निर्वाचनको सरगर्मी बढ्दै जाँदा विभिन्न जिल्ला तथा नगरका अध्यक्षहरूबीच महराप्रति समर्थन बढ्दो देखिएको छ। मतदाताहरूले यसपटक महासंघमा नयाँ सोच, ऊर्जा र समावेशी नेतृत्व आवश्यक रहेको बताउँदै सुष्मा महरा जस्तो अनुभवी र सक्रिय महिला उद्यमीलाई अघि बढाउनुपर्ने धारणा राखेका छन्।

महराले सम्पूर्ण मतदातालाई आफ्नो अमूल्य मतमार्फत महिला नेतृत्वको नयाँ युग र समावेशी महासंघ निर्माणको यात्रामा साथ दिन हार्दिक अपिल गरेकी छिन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend