काठमाडौं । श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले वैदेशिक रोजगारीको मागपत्रमा पूर्वस्वीकृति आवेदन गर्दा अब अनिवार्य रूपमा सम्पर्क व्यक्तिको नाम, सम्पर्क नम्बर र ठेगाना खुलाउनुपर्ने भएको छ ।
वैदेशिक रोजगार विभागले आज जारी गरेको सूचनामा वैदेशिक रोजगारीका लागि श्रमिक माग गर्दा राष्ट्रियस्तरको दैनिक पत्रिकामा अनिवार्य रूपमा विज्ञापन प्रकाशित गर्नुपर्ने र सोको जानकारी विभागमा पठाउनुपर्ने प्रावधान रहेको पुनः स्मरण गराएको छ ।
विभागका अनुसार प्रकाशित विज्ञापनमा संस्थाको आधिकारिक सम्पर्क व्यक्तिको नाम, सम्पर्क नम्बर तथा सम्पर्क स्थान स्पष्ट रूपमा उल्लेख हुनुपर्ने व्यवस्था पहिलेदेखि नै भए पनि व्यवहारमा त्यसको पालना प्रभावकारी रूपमा नभएको पाइएको छ ।
प्रकाशित सूचनाअनुसार आवेदन दिन खोज्ने व्यक्तिहरूले उल्लेखित सम्पर्क माध्यममार्फत सम्बन्धित संस्थासँग सम्पर्क गर्न नसकेको गुनासो बढ्दै गएपछि विभागले यस विषयमा गम्भीर ध्यानाकर्षण जनाएको हो । विभागले अब यस्ता विवरण स्पष्ट नखुलाइने संस्थाहरूमाथि आवश्यक कारबाही गर्न सकिने संकेत समेत गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend