सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पेट्रोलियम मूल्यवृद्धिको प्रभाव: सार्वजनिक यातायात महासंघद्वारा भाडा समायोजनको माग

पेट्रोलियम मूल्यवृद्धिको प्रभाव: सार्वजनिक यातायात महासंघद्वारा भाडा समायोजनको माग

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको अस्वाभाविक र निरन्तर मूल्यवृद्धिले देशको जनजीवनसँगै सार्वजनिक यातायात क्षेत्रमा गम्भीर असर पारेको भन्दै सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले तत्काल भाडादर समायोजन गर्न सरकारसँग माग गरेको छ।

महासंघद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा डिजेलको मूल्य २०८३ साल वैशाख २ गते रातिदेखि पुनः बढाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। लगातार भइरहेको मूल्यवृद्धिको प्रत्यक्ष असर सार्वजनिक यातायात क्षेत्रमा पर्ने भएकाले यसले व्यवसायी मात्र नभई आम उपभोक्ताको दैनिक जीवनमा समेत ठूलो असर पुर्‍याएको महासंघले जनाएको छ।

विज्ञप्तिमा यातायात व्यवस्था विभाग, प्रदेश मन्त्रालय तथा यातायात महासंघहरूबीच भएको सहमतिअनुसार पेट्रोलियम पदार्थको मूल्यमा ५५ रुपैयाँसम्मको वृद्धि वा गिरावट हुँदा भाडादर स्वचालित रूपमा समायोजन गरिनुपर्ने उल्लेख छ। तर, पछिल्ला दुई पटकको मूल्यवृद्धि हुँदासमेत सरकारले उक्त सहमति कार्यान्वयन नगरेको महासंघको गुनासो छ।

महासंघले २०८२ चैत २७ र २०८३ वैशाख २ गते गरी डिजेलमा प्रतिलिटर ५५ रुपैयाँसम्म मूल्यवृद्धि भएको उल्लेख गर्दै सोही आधारमा अन्तरप्रदेश तथा प्रदेशभित्र सञ्चालन हुने यात्रुवाहक, मालवाहक, ट्याक्सी तथा पर्यटन यातायातको भाडादर तत्काल समायोजन गर्न आग्रह गरेको छ।

महासंघका महासचिव भरत नेपालले वैज्ञानिक र स्वचालित प्रणालीअनुसार भाडा समायोजन नगरे व्यवसायीहरू थप मारमा पर्ने र यातायात सेवा नै प्रभावित हुन सक्ने चेतावनी दिएका छन्। साथै, उनले सरकारसँग सहमति कार्यान्वयन गर्दै यथाशीघ्र नयाँ भाडादर निर्धारण गर्न आग्रह गरेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend