सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पटक–पटक मूल्यवृद्धि हुँदा ग्रिल उद्योगहरू धराशायी हुने अवस्थामा पुगेका छन्ः अध्यक्ष ठूलो बाबु श्रेष्ठ

पटक–पटक मूल्यवृद्धि हुँदा ग्रिल उद्योगहरू धराशायी हुने अवस्थामा पुगेका छन्ः अध्यक्ष ठूलो बाबु श्रेष्ठ

 काठमाडौं । देशभर फैलिएका ग्रिल तथा स्टील व्यवसाय अहिले अभूतपूर्व संकटको सामना गरिरहेका छन्। बजारमा ग्रिलजन्य फलामको अस्वाभाविक मूल्यवृद्धिले उद्योगी, व्यवसायी मात्र होइन, आम उपभोक्तासमेत गम्भीर मारमा परिरहेका छन्। यही सन्दर्भमा ग्रिल तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष ठूलो बाबु श्रेष्ठले सरकारको निष्क्रियता र केही सीमित उद्योगीको स्वार्थप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्।

आज खबरब्रेकिंगसँगको कुराकानीमा अध्यक्ष श्रेष्ठले स्पष्ट शब्दमा भने, “अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य स्थिर छ, तर नेपालमा मात्र मूल्यवृद्धि हुनुको अर्थ केही सीमित समूहको चलखेल हो।” उनका अनुसार यस्तो अवस्था सामान्य बजार प्रक्रियाबाट सम्भव छैन, बरु योजनाबद्ध रूपमा कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाइएको संकेत देखिन्छ।

श्रेष्ठले   वर्तमान सरकारलाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेका छन्। उनले भने, “यदि सरकारले समयमै हस्तक्षेप गरेन भने हजारौं उद्योग बन्द हुने अवस्थामा पुग्नेछन्, जसले प्रत्यक्ष रूपमा रोजगारी र अर्थतन्त्रमा ठूलो असर पार्नेछ।”

नेपालभर करिब ११ हजारभन्दा बढी ग्रिल उद्योग सञ्चालनमा छन्, जसले करिब एक लाख ६० हजार श्रमिकलाई रोजगारी दिएका छन्। यी उद्योगहरूले वार्षिक ५० अर्ब रुपैयाँभन्दा बढीको उत्पादन गर्दै आएका छन्। तर पछिल्लो समय निर्माण सामग्री, विशेषगरी फलामको मूल्य निरन्तर बढ्दै जाँदा उद्योग सञ्चालन नै कठिन बन्दै गएको व्यवसायीहरूको गुनासो छ।

श्रेष्ठका अनुसार बजारमा देखिएको मूल्यवृद्धि स्वाभाविक नभई ‘अस्वाभाविक’ र ‘अनियन्त्रित’ छ। उनले भने, “पटक–पटक यस्तो मूल्यवृद्धि हुँदा ग्रिल उद्योगहरू धराशायी हुने अवस्थामा पुगेका छन्। व्यवसायी मात्र होइन, घर बनाउने साधारण नागरिक पनि यसको प्रत्यक्ष मारमा परेका छन्।”

उनले सरकार र सम्बन्धित नियामक निकायहरूलाई कडा प्रश्न गर्दै भने, “यस्तो अवस्थामा पनि सरकारी निकाय मुकदर्शक बनेर बस्नु अत्यन्त चिन्ताजनक छ।” उनका अनुसार यदि समयमै अनुगमन र छानबिन नगरिए बजारमा कालोबजारी झनै मौलाउने खतरा छ।

महासंघले अब आफैं सक्रिय रूपमा बजार अनुगमन गर्ने निर्णय गरेको छ। यसका लागि उपसमिति गठन गरिसकेको जानकारी दिँदै श्रेष्ठले भने, “हामी केवल हेरेर बस्ने अवस्थामा छैनौं। बजारमा के भइरहेको छ भन्ने हामी आफैं अनुगमन गर्छौं र आवश्यक परे सरकारलाई दबाब दिन्छौं।”

उनले कालोबजारी नियन्त्रणका लागि कडा कदम चाल्नुपर्नेमा जोड दिँदै भने, “यदि कसैले कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाएको पाइयो भने त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउनुपर्छ। यसमा कुनै सम्झौता हुनु हुँदैन।”

राजनीतिक अस्थिरताको फाइदा उठाउँदै ठूला उद्योगहरूले मनोमानी गरेको आरोप लगाउँदै श्रेष्ठले यस्तो प्रवृत्ति सह्य नहुने बताए। “देशको अवस्था अस्थिर हुँदा केही शक्तिशाली समूहले बजार नियन्त्रण गर्ने प्रयास गर्छन्, जुन अत्यन्त खतरनाक संकेत हो,” उनले भने।

वर्तमान परिस्थितिले केवल व्यवसायिक संकट मात्र होइन, समग्र आर्थिक संरचनामै असर पार्ने संकेत देखिएको छ। निर्माण क्षेत्र, जुन देशको आर्थिक गतिविधिको प्रमुख आधार मानिन्छ, त्यही क्षेत्रमा कच्चा पदार्थको मूल्य अनियन्त्रित रूपमा बढ्नुले विकास निर्माणका कामहरूमा समेत प्रत्यक्ष असर पारिरहेको छ।

अध्यक्ष श्रेष्ठले सरकारलाई चेतावनीपूर्ण आग्रह गर्दै भने, “यदि अब पनि सरकारले समयमै हस्तक्षेप गरेन भने यसको परिणाम निकै गम्भीर हुनेछ। उद्योग बन्द हुने, रोजगारी गुम्ने र उपभोक्ता थप मारमा पर्ने अवस्था सिर्जना हुनेछ।”

उनको भनाइले अहिलेको बजार अवस्थाको गम्भीरता मात्र होइन, तत्काल समाधानको आवश्यकता पनि स्पष्ट रूपमा उजागर गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend