सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको स्थापना दिवस भव्य रुपमा मनाउने तयारी

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको स्थापना दिवस भव्य रुपमा मनाउने तयारी

काठमाडौं । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको आगामी बैशाख २१ गते मनाइने स्थापना दिवसलाई भव्य, सभ्य र प्रभावकारी रूपमा सम्पन्न गर्ने उद्देश्यले केन्द्रीय कार्यालय, बिजुलीबजारमा महासंघको महत्वपूर्ण बैठक सम्पन्न भएको छ। बैठकले स्थापना दिवसलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी व्यवसायीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्ने, अनुभव आदानप्रदान गर्ने तथा संगठनात्मक एकता अझ मजबुत बनाउने लक्ष्यसहित पिकनिक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।

महासंघका अध्यक्ष ठूलो बाबु श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा   व्यवसायीहरूको  सहभागिता रहेको थियो। बैठकमा बोल्दै अध्यक्ष श्रेष्ठले स्थापना दिवसलाई व्यवसायीहरूको साझा उत्सवका रूपमा मनाउनुपर्नेमा जोड दिँदै यसलाई व्यवसायिक एकता, सहकार्य र पहिचान अभिवृद्धिको अवसरका रूपमा उपयोग गर्न आग्रह गरे। उनले पछिल्लो समय स्टील तथा ग्रील व्यवसायमा देखिएका चुनौतीहरू, बजारमा बढ्दो अस्थिरता तथा कच्चा पदार्थको मूल्यवृद्धिका कारण व्यवसायीहरू मारमा परेको उल्लेख गर्दै यस्ता कार्यक्रमले व्यवसायीहरूबीच सहकार्यको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

यसैबीच बैठकमा समसामयिक विषयहरूमा समेत व्यापक छलफल भएको थियो। विशेषगरी स्टील तथा निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धि, आपूर्ति व्यवस्थापनमा देखिएका समस्या, सरकारी नीतिगत अस्पष्टता तथा कर प्रणालीका विषयमा व्यवसायीहरूले गम्भीर चिन्ता व्यक्त गरेका थिए। सहभागीहरूले सरकारसँग समन्वय गरेर व्यवसायमैत्री वातावरण सिर्जना गर्न महासंघले सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याएका थिए।

त्यस्तै, अनियमित बजार नियन्त्रण, गुणस्तरहीन सामग्रीको प्रयोग रोकथाम, तथा व्यवसायीहरूको हकहित संरक्षणका लागि कडा कदम चाल्नुपर्ने विषयमा पनि छलफल भएको थियो। बैठकले यी समस्याहरू समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्दै ठोस पहल अघि बढाउने प्रतिबद्धता जनाएको छ।

अध्यक्ष श्रेष्ठले महासंघ व्यवसायीहरूको साझा आवाज भएको उल्लेख गर्दै संगठनलाई अझ सशक्त, जिम्मेवार र परिणाममुखी बनाउन सबै सदस्यहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए। उनले स्थापना दिवसको अवसरमा आयोजना हुने कार्यक्रमहरूलाई व्यवसायीहरूको एकता प्रदर्शन गर्ने महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्न सबैलाई आग्रह गरे।

महासंघले स्थापना दिवसलाई अवसरको रूपमा लिँदै आगामी दिनमा व्यवसाय सुधार, नीति वकालत तथा सदस्यहरूको क्षमता अभिवृद्धिका कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने योजना समेत अघि सारेको छ। आगामी कार्यक्रमले व्यवसायीहरूबीच नयाँ ऊर्जा, उत्साह र एकताको सन्देश प्रवाह गर्ने विश्वास महासंघले लिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend