काठमाडौं । काठमाडौंस्थित “एचय राइडर समूह”ले नेपालमा सञ्चालनमा रहेका राइड सेयरिङ कम्पनीहरूको मनोमानी, अन्यायपूर्ण भाडादर निर्धारण, श्रम शोषण तथा कमजोर सरकारी नियमनप्रति गम्भीर आपत्ति जनाउँदै चरणबद्ध आन्दोलन घोषणा गरेको छ।
मंगलबार जारी प्रेस विज्ञप्तिमा समूहले लामो समयदेखि सम्बन्धित निकाय, कम्पनी र सरोकारवालासँग संवाद तथा ध्यानाकर्षण गराउँदै आए पनि मागहरू बेवास्ता गरिएको आरोप लगाएको छ। “हाम्रो धैर्यलाई कमजोरी ठानिएको छ, जसले सम्पूर्ण राइडरहरूलाई आक्रोशित बनाएको छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
समूहले राइड सेयरिङ सेवासम्बन्धी पाँच बुँदे मागपत्र सार्वजनिक गर्दै देशभर सञ्चालनमा रहेका सबै एपहरूले प्रति किलोमिटर २७ रुपैयाँको समान भाडादर अनिवार्य रूपमा लागू गर्नुपर्ने माग गरेको छ। साथै, विभिन्न योजना, बोनस वा ‘गोल ट्रिप’ जस्ता अफरको नाममा राइडरहरूको भाडादर घटाउने वा बढाउने कार्य तुरुन्त बन्द गर्नुपर्ने बताइएको छ।
त्यस्तै, नेपालमा आधिकारिक रूपमा दर्ता नभएका राइड सेयरिङ कम्पनीहरूलाई तत्काल नियमनको दायरामा ल्याउनुपर्ने, याङ्गो लगायत दर्ता नभएका कम्पनीहरूलाई सञ्चालनमा रोक लगाउनुपर्ने माग पनि गरिएको छ। विदेशी राइड सेयरिङ एपहरूलाई स्पष्ट कानुनी दायराभित्र ल्याउन तथा नियम पालना नगरेमा सरकारकै मातहतमा नेपाली एप सञ्चालन गर्नुपर्ने मागसमेत अघि सारिएको छ।
विज्ञप्तिमा विदेशी एपमार्फत दैनिक रूपमा ठूलो रकम विदेशिने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सरकारले त्यसलाई रोक्न प्रभावकारी कदम चाल्नुपर्ने उल्लेख गरिएको छ। साथै, नेपालमै विकास भएका एपहरूलाई प्रोत्साहन गर्न आवश्यक सहुलियत र सेवा उपलब्ध गराउन सरकारसँग आग्रह गरिएको छ।
मागहरू सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिँदै समूहले कालो पट्टी बाँधेर विरोध, सामूहिक धर्ना, हस्ताक्षर अभियान, जुलुस प्रदर्शन, रिले आन्दोलन तथा अन्तिम विकल्पका रूपमा राइड सेयरिङ सेवा पूर्ण बन्दसम्मका कार्यक्रम घोषणा गरेको छ।
समूहका प्रवक्ता पेशल कुमार खाप्तरी मगरले राइडरहरूको हकहित सुनिश्चित नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend