सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

 यज्ञविक्रम राणा वाड्‌मय प्रतिष्ठानद्वारा स्मृति ग्रन्थ लोकार्पण 

 यज्ञविक्रम राणा वाड्‌मय प्रतिष्ठानद्वारा स्मृति ग्रन्थ लोकार्पण 

काठमाडौँ । यज्ञविक्रम राणा वाड्‌मय प्रतिष्ठान, काठमाडौँको आयोजनामा विशिष्ट साहित्यसाधक, शिक्षाप्रेमी तथा समाजसेवाका उन्नायक, बहुमुखी प्रतिभासम्पन्न मृदुभाषी हितेषी सहायक रथी इन्जिनियर   यज्ञविक्रमराणाको १०२ औँ जन्मजयन्ती तथा १४ औँ स्मृतिदिवसको अवसरमा प्रकाशित स्मृति ग्रन्थको लोकार्पण समारोह शनिबार फाल्गुण २ गते सम्पन्न भएको छ।

वि.सं. १९८० चैत १५ गते स्याङ्जामा जन्म भई २०६८ श्रावण ५ गते कातगाडीमा दिवङ्गत विक्रम राणाको स्मृतिमा प्रकाशित उक्त स्मृतिग्रन्थ साहित्य, शिक्षा र समाजसेवामा उहाँले पुर्‍याउनुभएको योगदानको दस्तावेजका रूपमा रहेको वक्ताहरूले बताएका छन्।

समारोहको सञ्चालन भावकेशर बरालले गरेका थिए। कार्यक्रमका सभापति शशिविक्रम राणा रहनुभएको थियो। उहाँ सञ्चय कोषका पूर्व प्रशासक हुनुका साथै यज्ञविक्रम राणा वाड्‌मय प्रतिष्ठानका अभिभावक, यज्ञविक्रम राणाका भाइ पृथ्वीविक्रम राणाका सुपुत्र हुनुहुन्छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली वाङ्‌मयका शिखर पुरुष वासुदेव त्रिपाठी रहनुभएको थियो। नेपाली साहित्यका प्रथम विद्यावारिधि, पूर्वीय र पाश्चात्य साहित्य समालोचनाका ज्ञाता त्रिपाठीले लेखनाथ पौड्यालको काव्यसम्बन्धी शोधग्रन्थका लागि वि.सं. २०३४ मा मदन पुरस्कार प्राप्त गर्नुभएको थियो। उहाँ तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, त्रिभुवन विश्वविद्यालय मानविकी संकायका पूर्व डीन तथा नेपाली केन्द्रीय विभागका पूर्व विभागीय प्रमुखसमेत रहनुभएको छ।

विशिष्ट अतिथिका रूपमा प्रा.डा. दयाराम श्रेष्ठ सहभागी हुनुहुन्थ्यो। मदन पुरस्कार २०५३ बाट सम्मानित श्रेष्ठ ‘नेपालको राष्ट्रिय झण्डा’ शीर्षक शोधग्रन्थका लेखक तथा त्रिवि नेपाली केन्द्रीय विभागका पूर्व विभागीय प्रमुख हुनुहुन्छ। त्यस्तै विशिष्ट अतिथिमा वि.सं. २०६४ को भूपट पुरस्कार प्राप्त साहित्यकार गेहेन्द्रमान अमात्य, वरिष्ठ चित्रकार मुष्ध चित्रकार, यज्ञविक्रम राणाका सन्निकट रहनुभएका वरिष्ठ द्रष्टा प्रभा भट्टराई, कोषकार तथा द्रष्टा प्रा. घटराज भट्टराईकी धर्मपत्नी, साथै डा. गौरीशंकरलाल दास र डा. प्रेमसिंह बस्न्यात लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले स्मृतिग्रन्थमाथि प्रकाश पार्दै इन्जिनियर   यज्ञविक्रम राणाले नेपाली समाज, शिक्षा र वाङ्‌मय क्षेत्रमा पुर्‍याउनुभएको योगदान भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गरे। प्रतिष्ठानले यस्ता स्मृतिमूलक कृतिहरूमार्फत नेपाली बौद्धिक परम्परा र मूल्यलाई जीवित राख्ने काम गरिरहेको पनि सहभागीहरूले बताएका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend