सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बजारमा देखिएको ग्यास अभाव हटाउन निगमको हस्तक्षेप, निगमकै कार्यालयबाट सिलिण्डर बिक्री सुरु

बजारमा देखिएको ग्यास अभाव हटाउन निगमको हस्तक्षेप, निगमकै कार्यालयबाट सिलिण्डर बिक्री सुरु

काठमाडौं । नेपाल आयल निगमले बजारमा देखिएको एलपी ग्यासको आंशिक अभावलाई मध्यनजर गर्दै उपभोक्ताको सहजताका लागि प्रत्यक्ष निगरानीमै बिक्री–वितरण सुरु गरेको जनाएको छ। निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै केही ग्यास कम्पनीका सिलिण्डर निगमकै टेकुस्थित कार्यालयबाट बिक्री वितरण गर्न थालिएको उल्लेख गरेका छन्।

उनका अनुसार बजारमा केही दिनयता नेपाल ग्यास र एभरेष्ट ग्यासका सिलिण्डरको आपूर्तिमा असन्तुलन देखिएपछि उपभोक्तालाई समस्या नहोस् भन्ने उद्देश्यले निगमले प्रत्यक्ष हस्तक्षेप गरेको हो। “आदरणीय उपभोक्ता ज्यूहरूको सहजीकरणका लागि निगमको प्रत्यक्ष निगरानीमा बजारमा केही अभाव देखिएका ग्यास कम्पनीहरूका सिलिण्डरहरू टेकु कार्यालयबाट पनि बिक्री–वितरण सुरु गरिएको छ,” डा. भट्टले फेसबुकमा लेखेका छन्।

निगमले हाल देखिएको अभाव दीर्घकालीन नभई वितरण प्रणालीमा आएको अस्थायी असन्तुलनका कारण भएको स्पष्ट पारेको छ। माग उच्च हुनु, ढुवानीमा देखिएका केही प्राविधिक समस्या तथा वितरण केन्द्रहरूमा चाप बढ्नु जस्ता कारणले केही क्षेत्रमा ग्यासको आपूर्ति प्रभावित भएको बताइएको छ।

टेकु कार्यालयबाट बिक्री सुरु गरिएपछि उपभोक्ताले सिधै निगमको निगरानीमा ग्यास प्राप्त गर्न सक्नेछन्। यस कदमले कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्ने प्रवृत्तिमा समेत नियन्त्रण हुने निगमको विश्वास छ। निगमले अधिकृत मूल्यभन्दा बढी रकम असुल गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ।

निगमले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न तथा अफवाहको पछि नलाग्न आग्रह गरेको छ। आपूर्ति व्यवस्था नियमित रहेको र आवश्यक परे थप परिमाणमा ग्यास बजारमा पठाउने तयारी रहेको निगमले जनाएको छ।

हाल निगमले बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै वितरण प्रणालीलाई व्यवस्थित गर्ने कामलाई तीव्रता दिएको छ। उपभोक्तालाई सहज र सुलभ रूपमा ग्यास उपलब्ध गराउनु नै आफ्नो पहिलो प्राथमिकता रहेको निगमको भनाइ छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend