सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले ल्यायो हेल्पडेस्क सञ्चालनमा

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले ल्यायो हेल्पडेस्क सञ्चालनमा

काठमाडौं । नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघले आफ्नो १३औँ स्थापना दिवस तथा वार्षिकोत्सवलाई केवल औपचारिकतामा सीमित नराखी व्यवसायीका वास्तविक समस्यालाई सम्बोधन गर्ने उद्देश्यसहित ‘व्यावसायिक सहायता कक्ष’ (हेल्प डेस्क) सञ्चालनमा ल्याएको छ। त्रिपुरेश्वरस्थित महासंघको केन्द्रीय सचिवालयमा आयोजित विशेष समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) ईश्वर कार्कीले उक्त सहायता कक्षको औपचारिक उद्घाटन गरे।

सुन, चाँदी, रत्न तथा आभूषण व्यवसायसँग जोडिएका व्यवसायीहरूलाई प्रचलित ऐन, कानुन, नियम तथा प्रक्रियाबारे जानकारी गराउने, कानुनी जटिलतामा तत्काल परामर्श उपलब्ध गराउने, सुरक्षा चुनौती न्यूनीकरणमा सहयोग पुर्‍याउने र समग्र व्यावसायिक प्रवर्द्धनमा टेवा दिने उद्देश्यले हेल्प डेस्क स्थापना गरिएको महासंघले जनाएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि एआइजी कार्कीले पछिल्लो समय प्रविधिको दुरुपयोगमार्फत हुने अपराधहरू बढ्दो क्रममा रहेकाले सुनचाँदी तथा आभूषण व्यवसाय उच्च जोखिममा रहेको उल्लेख गरे। उनले व्यवसायीहरूलाई डिजिटल कारोबार, अनलाइन ठगी, चोरी तथा संगठित अपराधप्रति विशेष सतर्कता अपनाउन आग्रह गर्दै प्रहरी–व्यवसायी सहकार्यलाई थप प्रभावकारी बनाउनु आवश्यक रहेको धारणा व्यक्त गरे।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले हेल्प डेस्कले व्यवसायीहरूले भोग्दै आएका विविध समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले अपराध नियन्त्रण, सूचनाको आदान–प्रदान तथा कानुनी प्रक्रियामा सहजीकरणका लागि यो सहायता कक्ष उपयोगी हुने बताए।

महासंघका अध्यक्ष किसान सुनारले बजारमा व्यवसाय सञ्चालनका क्रममा आइपर्ने कानुनी समस्या, सुरक्षा जोखिम, दर्ता तथा नवीकरण प्रक्रिया, सरकारी निकायसँगको समन्वय जस्ता विषयमा हेल्प डेस्कबाट तत्काल परामर्श उपलब्ध गराइने जानकारी दिए। उनले महासंघ नीतिगत सुधारका लागि पनि निरन्तर पहलरत रहेको उल्लेख गर्दै व्यवसायीहरूको हित संरक्षण नै महासंघको प्रमुख लक्ष्य भएको बताए।

यसै अवसरमा महासंघका महासचिव निरबहादुर विश्वकर्मा (विमल) ले स्थापना दिवसको अवसर पारेर प्रादेशिकस्तरमा तालिम, प्रशिक्षण तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिसकिएको जानकारी गराए। यस्ता कार्यक्रमले व्यवसायीहरूलाई कानुनी तथा व्यावसायिक रूपमा थप सशक्त बनाउने विश्वास व्यक्त गरे।

महासंघका प्रथम उपाध्यक्ष द्वारिका विश्वकर्माले लामो समयको छलफल, अध्ययन र प्रयासपछि हेल्प डेस्क स्थापना हुन सकेको उल्लेख गर्दै यसले व्यवसायीहरूको सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने बताए। उनले आगामी दिनमा प्रदेश तथा जिल्लास्तरमा समेत हेल्प डेस्क विस्तार गर्ने योजना रहेको जानकारी दिँदै व्यवसायिक सेवा प्रवाहलाई अझै व्यवस्थित र प्रभावकारी बनाइने स्पष्ट पारे।

स्थापना दिवसको अवसरमा सुरु गरिएको यो पहलले सुनचाँदी, रत्न तथा आभूषण व्यवसायीहरूको समस्या समाधान, सुरक्षा सुदृढीकरण र व्यावसायिक वातावरण सुधारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend