काठमाडौँ २५, कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था र उपचारका बारेमा छिमेकी देशका नेताहरूले पनि चासो राख्दै आएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशमन्त्री एस जयशंकरमार्फत उपचारका लागि दिल्ली आउन ओलीलाई सन्देश पठाएको खुलेको छ ।
भारतको विदेशमन्त्री नियुक्त भएपछि करिब तीन महिनाअघि नेपाल भ्रमणमा आएका जयशंकरले प्रधानमन्त्री ओलीसँगको भेटमा पहिले दिल्लीमा उपचार गराउँदाको मेडिकल रेकर्ड रहेको स्मरण गराउँदै थप उपचारका लागि दिल्ली नै आउन आग्रह गरेका थिए ।
‘पहिले उपचार गराएकाले मेडिकल हिस्ट्री पनि छ, हामी उच्चस्तरीय प्रबन्ध गर्नेछौं’, ओली–जयशंकर भेटमा जयशंकरको भनाइ उद्धृत गर्दै एक उच्च स्रोतले भन्यो, ‘टाढा जानुभन्दा भारत आउनुहोस् भन्ने प्रधानमन्त्रीको सन्देश बोकेर म आएको हुँ ।’
१२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा ओलीले मृगौला प्रत्यारोपण गरेका थिए । चार वर्षअघि संविधान जारी गर्ने समयमा दिल्लीको चासोलाई अस्वीकार गरेपछि जब दिल्लीसँगको सम्बन्ध बिग्रियो, त्यसबेलादेखि नै ओली फलोअप उपचारका लागि भारत गएका छैनन् ।
उच्च स्रोतहरूका अनुसार राम्रा प्रविधिसहितका अस्पताल हुँदा पनि नजिकको छिमेकी देशमा उपचार नगराएर प्रधानमन्त्री ओली सिंगापुर र अन्य देश गएकामा दिल्लीले सहज मानेको छैन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend