काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६१ औं वार्षिकोत्सव समारोह माननीय अर्थमन्त्री रामेश्वरप्रसाद खनालको प्रमुख आतिथ्यतामा शनिबार एक समारोहकाबीच सम्पन्न भएको छ । कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले ऋणीहरुको मनोविज्ञान बुझेर कर्जा विस्तार गर्ने, बैंकद्वारा ऋणीहरुको प्रोफाइलिङ गर्ने, नगद कारोबार भन्दा डिजीटल कारोबारलाई प्रोत्साहन गर्नुपर्ने लगायत विषयमा जोड दिनुभयो । साथै बैंकले कर्जा लगानी गर्दा धितोमा आधारित भन्दा पनि क्रेडिट स्कोरको आधारमा लगानी गर्ने व्यवस्था गर्न सक्ने हो भने उद्धमशिलता तथा आयआर्जन र तिर्न सक्ने क्षमतामा आधारित विधिबाट अगाडी बढ्न सकिने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री खनालले बैंकको ६१ औं वार्षिकोत्सवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क स्मारिका उपहार २०८२ विमोचन गर्नुका साथै यस वर्ष राष्ट्रिय वाणिज्य बैंकले सञ्चालनमा ल्याएका १२ वटा शाखा कार्यालयहरुको डिजिटल माध्यमबाट औपचारिक रुपमा उदघाटन गर्नुभयो ।
सोही अवसरमा मन्त्री खनालले बैंकको नयाँ प्रडक्ट आरबिबि फोन लोनको शुभारम्भ गर्नुभयो । कार्यक्रममा बैंकमा बीस वर्ष सेवा पूरा गर्नुभएका कर्मचारीहरुलाई दीर्घसेवा पदक सहित सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष देव कुमार ढकालले नेपाल सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्यलाई टेवा पुग्ने गरी बैंकिङ सेवाहरुको विस्तार गर्दै बैंकले उत्पादनशिल क्षेत्रहरुलाई प्राथमिकतामा राखी कर्जा प्रवाह गरिरहेको जानकारी गराउनुभयो ।
त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउनुभयो । युवा पुस्ताको भावनालाई कदर गर्दै मुलुक एवम् जनताको हित हुने कार्यमा अग्रसर हुनु बैंकको प्रमुख जिम्मेवारी एवम् दायित्व रहेको बताउंदै उहाँले समाजको आर्थिक मेरुदण्डको सारथिका रुपमा बैंक संगसंगै अगाडि बढ्ने बताउनुभयो ।
प्रमुख कार्यकारी अधिकृत खनालले कर्मचारीले समग्र देशको उत्पादन, रोजगारी एवम् आय वृद्धि मार्फत आर्थिक रुपमा सबल र सक्षम अर्थतन्त्र निर्माणका लागि वर्तमान तथा भावी पुस्ताको चाहना बमोजिम बैंकिङ सेवा प्रवाह गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उक्त अवसरमा उहाँले बैंकले प्रविधिमा आधारित बैंकिङ सेवालाई आत्मसाथ गर्दै डिजीटल बैंकिङ्ग सेवालाई प्राथमिकताका साथ अगाडि बढाईरहेको र हालै मात्र नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) द्वारा २०८०र०८१ मा सबैभन्दा बढी क्यू आर मर्चेन्ट कारोबार गर्ने बैंक तथा सबैभन्दा बढी डिजिटल सरकारी कारोबार गर्ने बैंकका रूपमा बैंक पुरस्कृत भएको जानकारी दिनुभयो ।
मूल समारोहको कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष रबिन्द्र प्रसाद चौलागाईं , नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका अध्यक्ष सुदिन केसी र राष्ट्रिय वाणिज्य बैंक नेपाल राष्ट्रिय कर्मचारी संगठनका कार्यवाहक अध्यक्ष चुडामणि गुप्ताले कर्मचारीको हकहित तथा समग्र बैंकको सम्बन्धमा आ(आफ्नो धारणा राख्दै शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरु थान प्रसाद पंज्ञानी, स्वतन्त्र सञ्चालक लक्ष्मण घिमिरे, प्राडा रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, हरि कुमार सिलवाल, नायब प्रमुख कार्यकारी अधिकृतद्वयस् सरस्वती अधिकारी र देवेशप्रसाद लोहनी, उपकार्यकारी अधिकृतहरु पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कंडेल, रामकुमार थापा, विभागीय प्रमुखहरु, शाखा प्रबन्धक, कर्मचारीहरु लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।
यसअघि वार्षिकोत्सवकै अवसरमा बैंकको केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयहरुको आयोजनामा रक्तदान, स्वास्थ्य शिविर, विविध खेलकुदका कार्यक्रम तथा ७७ वटै जिल्लामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको थियो ।
विसं २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंक स्थापनाको ६० वर्ष पूरा गरी ६१ औं वर्षमा प्रवेश गरेको छ । बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी ३१३ वटा शाखा कार्यालय, ७१ वटा एक्सटेन्सन काउन्टर, ३२२ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग मार्फत ४७ लाख भन्दा बढी ग्राहकलाई बैंकिङ्ग सेवाहरु उपलब्ध गराईरहेको छ । यसैगरी बैंकले डिजीटल बैंकिङ्ग सेवालाई प्राथमिकतामा राख्दै १९ लाख ७० हजार भन्दा बढी सेवाग्राहीलाई मोबाइल बैंकिङ्ग सेवाका साथै करिब १ लाख ४७ हजार क्यूआर मर्चेन्ट कारोबार सेवा प्रदान गरिरहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend