सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सहिद माधव सारु मगरको घरबाट नारायण प्रसाद खनालको चुनावी घरदैलो अभियान सुरु

सहिद माधव सारु मगरको घरबाट नारायण प्रसाद खनालको चुनावी घरदैलो अभियान सुरु

 

१४ पुष,अर्घाखाँची । अर्घाखाँची जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएका नारायण प्रसाद खनालले आफ्नो चुनावी घरदैलो अभियानको सुरुवात सहिद माधव सारु मगरको घरबाट गर्नुभएको छ ।

भाद्र २३ गते ज्यान गुमाएका सहिद माधव सारु मगरको भुमिकास्थान नगरपालिका–धारापानीस्थित घरमा पुगेर खनालले सहिदकी आमासँग भेटघाट गर्नुभएको हो । भेटका क्रममा उहाँले सहिद माधव सारु मगरप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो सम्मान व्यक्त गर्नुभयो ।

उम्मेदवार खनालले माधव सारु मगर अर्घाखाँचीको मात्र होइन, सिंगो देश र यो धर्तीमा परिवर्तनको सपना बोकेर आफ्नो अमूल्य जीवन बलिदान दिने वीर सपूत भएको बताउनुभयो । उहाँले सहिद माधवको सपना, संघर्ष र बलिदानलाई सदैव सम्मान गर्दै आत्मशान्तिका लागि प्रतिबद्ध भएर अघि बढ्ने अठोट व्यक्त गर्नुभयो ।

अन्याय, भ्रष्टाचार र बेथितिविरुद्धको आफ्नो राजनीतिक यात्रा सहिदहरूको बलिदानबाट प्रेरित रहेको उल्लेख गर्दै खनालले जनताको आवाज बनेर सत्य र न्यायको पक्षमा उभिने प्रतिबद्धता दोहोर्याउनुभयो । सहिदको बलिदान खेर जान नदिने दृढ संकल्पसहित आफू यो चुनावी यात्रामा अघि बढेको उहाँको भनाइ छ ।

सहिदको घरबाट अभियान सुरु गर्नुले आफ्नो उम्मेदवारी मूल्य, सिद्धान्त र त्यागमा आधारित भएको सन्देश दिएको खनालले बताउनुभएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend