८ पुष,काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्ला दिनमा नियमित रूपमा बजार अनुगमन गर्दै स्वच्छता कायम गराउने अभियानलाई तीव्र बनाएको छ। सोही क्रममा विभागले तीन वटा फर्मलाई नगद जरिवानासहित कारबाही गरेको छ।
विभागले उपलब्ध गराएको विवरणअनुसार काठमाडौँको कोटेश्वरस्थित होटल ब्लिस्फुल प्रालिलाई ५० हजार रुपैयाँ, गोल्मादेवी भोजनालय एन्ड लजलाई ५ हजार रुपैयाँ र चडेश्वरी नेवारी खाजा घरलाई पनि ५ हजार रुपैयाँ जरिवाना गरिएको हो।
ती फर्महरूलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम कसुर गरेको ठहर गर्दै सोही ऐनको दफा ३९ को उपदफा १ अनुसार कारबाही गरिएको विभागले जनाएको छ।
यसैगरी विभागले थप ११ वटा फर्मको स्थलगत अनुगमन तथा निरीक्षण गरी सुधारात्मक निर्देशन दिएको छ। कालोबजारी नियन्त्रण, अखाद्य वस्तुको बिक्री–वितरणमा रोक लगाउने तथा उपभोक्ता हित संरक्षण गर्ने उद्देश्यले नियमित रूपमा बजार अनुगमन गरिँदै आएको विभागले स्पष्ट पारेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend