२५ मंसिर,काठमाडौं । साहस ऊर्जा लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा सम्पन्न गर्दै २२.११ प्रतिशत लाभांश प्रस्ताव अनुमोदन गरेको छ। कम्पनीका अध्यक्ष हिम प्रसाद पाठकको सभापतित्व र पूर्व अर्थमन्त्री युवराज खतिवडाको प्रमुख आतिथ्यमा यही मंसिर २४ गते बुधबार काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेबाट सभा भएको थियो । सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि सञ्चालक समितिको प्रस्ताव गरेको हाल कायम चुक्तापुँजी ३ अर्ब ७८ करोड रुपैयाँको कुल २२.११ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा २१ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.११ प्रतिशत नगद लाभांश छन्।
बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। यसका लागि प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव सभाले अनुमोदन गरेको छ।
त्यस्तै ,सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट कुनै फेरबदल वा थपघटका लागि सुझाव प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ।
कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ मंसिर ५ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले , मंसिर ५ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend