सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

व्यावसायिक कारोबार व्यक्तिगत खाताबाट नगर्न सहकारी विभागको निर्देशन

व्यावसायिक कारोबार व्यक्तिगत खाताबाट नगर्न सहकारी विभागको निर्देशन

 

१७ मंसिर, काठमाडौँ  । सहकारी विभागले सहकारी तथा व्यवसायिक गतिविधिमा देखिँदै आएको अनियमितता रोक्न नयाँ कडाइ गरिएको निर्देशन सार्वजनिक गरेको छ। विभागले सहकारी संस्थाहरूलाई व्यावसायिक कारोबार अबदेखि व्यक्तिगत बैंक खाताबाट नगर्न र नगराउन स्पष्ट आदेश दिएको हो।

विभागका अनुसार सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ ले सहकारीलाई पनि वित्तीय संस्थाको रूपमा व्याख्या गरेपछि सहकारीहरूको वित्तीय लेनदेन पारदर्शी र कानुनी ढंगले सञ्चालन गर्न आवश्यक रहेको जनाइएको छ। यही आधारमा मंगलबार जारी गरिएको निर्देशिकामा व्यक्तिगत खातामार्फत हुने कारोवार रोक्न र त्यस्तो गतिविधि पाइएमा अनिवार्य रूपमा वित्तीय जानकारी इकाइमा प्रतिवेदन पठाउनुपर्ने उल्लेख छ।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०८१ को नियम १० अनुसार कुनै कानुनी व्यक्तिको कारोबारसँग सम्बन्धित रकम त्याे संस्था वा प्रबन्धकै खाताबाट मात्र लिन–दिन सकिने प्रावधान छ। यसबाहेक अन्य व्यक्तिको व्यक्तिगत खातालाई कारोबारको माध्यम बनाएको भेटिएमा सहकारी तथा वित्तीय संस्थाले सोको जानकारी वित्तीय जानकारी इकाइ र आन्तरिक राजस्व विभागमा पठाउनुपर्ने हुन्छ।

त्यसैगरी आयकर ऐन, २०५८ को दफा ८१(क) ले व्यावसायिक कारोबारबाट प्राप्त नगद, चेक, क्यूआर वा कुनै पनि विद्युतीय माध्यमबाट प्राप्त रकम व्यक्तिगत खातामा राख्न नपाइने व्यवस्था धेरै पहिले नै स्पष्ट गरेको छ।

सहकारी विभागले सहकारी संस्थालाई यी कानुनी प्रावधानलाई कडाइका साथ पालना गर्न आग्रह गर्दै व्यवसायिक कारोबार पारदर्शी, सुरक्षित र सत्यापन योग्य बनाउन सबैलाई जिम्मेवार बन्न अपिल गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend