सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको ३० औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको ३० औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न

 

१३ मंसिर, काठमाडौँ ।    ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको ३० औं वार्षिक साधारण सभा आज काठमाडौंमा  सफलतापूर्वक सम्पन्न भएको छ । देशभरका ग्रील तथा स्टील व्यवसायीहरूको उत्साहजनक उपस्थितिमा सम्पन्न कार्यक्रममा महासंघका अध्यक्ष ठूलोबाबु श्रेष्ठले सभापतित्व गर्नु भएको थियो ।

कार्यक्रमको सुरुवातमा अध्यक्ष श्रेष्ठले स्वागत मन्तव्य दिदैँ हाल ग्रील तथा स्टील व्यवसाय सञ्चालनमा देखिएका ब्याजदरको अस्थिरता, सरकारी नीतिगत अनिश्चितता, गुणस्तरका चुनौती, करको दवाव तथा प्रतिस्पर्धात्मक बजारको अवस्थाबारे विस्तृत रूपमा प्रकाश पार्नुभयो । उहाँले व्यवसायलाई मर्यादित, पारदर्शी र व्यवस्थित प्रणालीमा अघि बढाउन महासंघ प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

साधारण सभामा विभिन्न क्षेत्रका प्रख्यात व्यक्तित्वहरूले सहभागिता जनाई आफ्नो विचार तथा अनुभव व्यक्त गरेका थिए ।विशेष अतिथिका रूपमा उपस्थित राष्ट्रिय व्यवसायी प्रशिक्षक प्रतिष्ठानका कार्यकारी निर्देशक  रमेश बखतीले हाल व्यवसायीहरूका क्षमता अभिवृद्धि, तालिम तथा नेतृत्व विकासका कार्यक्रमहरूलाई अझै प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । विशेष अतिथि तथा महासंघका निबर्तमान अध्यक्ष मोहन कटुवालले महासंघले विगतमा गरेका उपलब्धिहरू र आगामी योजनाबारे चर्चा गर्दै संस्थागत एकता र बलियो संरचना निर्माणमा सबै व्यवसायी एकजुट हुनुपर्नेमा जोड दिनुभयो । अतिथि तथा महासंघका वरिष्ठ उपाध्यक्ष श्री अमृत बहादुर श्रेष्ठले देशभरका व्यवसायीहरूलाई एकीकृत ढङ्गले अगाडि बढाउने महासंघको भूमिकालाई थप विस्तार गर्नुपर्ने सुझाव राख्नुभयो ।

अतिथि तथा प्रथम उपाध्यक्ष  केदार अधिकारीले उत्पादन, गुणस्तर र बजार व्यवस्थापनका क्षेत्रमा नवीनतम प्रविधि प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।अतिथि तथा महासंघका वरिष्ठ सल्लाकार  निरञ्जन कुमार श्रेष्ठले व्यवसायमा देखिने अनियमितता हटाई व्यवस्थित कारोबार प्रणाली कायम गर्न महासंघले नेतृत्व लिनुपर्ने धारणा राख्नुभयो ।

वैज्ञानिक एवं वातावरणविद  राम चरित्र शाहले उद्योग तथा व्यवसायसँग सम्बन्धित वातावरणीय प्रभाव, प्रदूषण नियन्त्रण, र दिगो विकासका सिद्धान्तबारे महत्वपूर्ण सुझावसहित मन्तव्य राख्नुभयो ।महासंघका संस्थापक अध्यक्ष  मधुबहादुर कार्कीले संगठन निर्माणका प्रारम्भिक कठिनाइ, संस्थाको इतिहास, विस्तार र संस्थागत विकासका महत्वपूर्ण अध्यायहरू स्मरण गर्दै वर्तमान नेतृत्वलाई अझ योजनाबद्ध रुपमा अघि बढ्न शुभकामना दिनुभयो ।

राष्ट्रिय व्यवसायी प्रशिक्षक प्रतिष्ठानका इन्जिनियर  नारायण प्रसाद निरौलाले प्रविधि र व्यवस्थापनका नवीन तरिकाहरू उद्योगमा लागू गर्नुपर्ने कुरा औंल्याउँदै व्यवसायीहरूले सामूहिक तालिम र ज्ञान–सम्प्रेषणमा जोड दिनुपर्छ भन्नुभयो । कार्यक्रममा अन्य उपस्थित व्यवसायी तथा प्रतिनिधिहरूले पनि आफ्ना अनुभव, समस्या र सुझावहरू राखेका थिए ।

साधारण सभामा भएका छलफल

साधारण सभामा आर्थिक प्रतिवेदन, वार्षिक प्रगतिबारे समीक्षा, अद्यावधिक कार्ययोजना तथा आगामी वर्षको रणनीतिबारे विस्तृत छलफल भएको थियो । बैंक ब्याजदरको चाप, निर्माण सामग्री बजारको अस्थिरता, कुशल जनशक्तिको अभाव, आपूर्ति व्यवस्थाको चुनौती जस्ता मुद्दाहरूलाई महासंघले प्राथमिक रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ ।

साधारण सभाले देशभरका ग्रील तथा स्टील व्यवसायीहरूलाई एउटै मञ्चमा ल्याई उनीहरूका समस्या समाधान तथा अधिकार संरक्षणमा महासंघको भूमिका झनै प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्दै अध्यक्ष ठूलोबाबु श्रेष्ठले सबै व्यवसायी, अतिथिहरू तथा सहयोगी निकायप्रति आभार व्यक्त गर्दै आगामी दिनमा महासंघलाई अझ सशक्त बनाउँदै व्यवसायीहरूको हितका निम्ति नीतिगत पैरवीलाई तीव्र बनाइने बताउनुभयो । यससँगै ग्रील तथा स्टील व्यवसायी महासंघको ३० औं वार्षिक साधारण सभा औपचारिक रूपमा सम्पन्न भएको घोषणा गरिएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend