६ मंसिर, काठमाडौं । मेडिकेयर हस्पिटल लिमिटेड, चाबहिलको २८औँ वार्षिक साधारण सभा आज धुमबाराहीस्थित होटल रमाडाको तमोर हलमा सम्पन्न भएको छ। समारोहको अध्यक्षता हस्पिटलका अध्यक्ष तथा पेटरोग विशेषज्ञ डा. प्रदीपकुमार यादवले गर्नुभयो।
कार्यक्रममा सञ्चालक समिति सदस्यहरू, सेयरधनी सदस्यहरू तथा विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरूको उपस्थिति थियो। सभा सफलतापूर्वक सञ्चालन गर्ने जिम्मेवारी हस्पिटलकी कम्पनी सचिव सुमित्रा मल्लले वहन गरेकी थिइन्।
हस्पिटलको विगत वर्षको आर्थिक अवस्था, सेवा विस्तारको प्रगति, आगामी वर्षका योजनाबद्ध कार्यक्रमहरू तथा व्यवस्थापकीय सुधारबारे विस्तृत प्रतिवेदन प्रस्तुत गरिएको थियो। साथै, सेयरधनी सदस्यहरूले हस्पिटलका सेवा गुणस्तर, दक्ष जनशक्ति विस्तार, अत्याधुनिक उपकरण अभिवृद्धि तथा रोगीमैत्री वातावरण निर्माणमा थप ध्यान दिनुपर्ने सुझावहरू पनि प्रस्तुत गरेका थिए।
अध्यक्ष डा. यादवले हस्पिटलले पछिल्ला वर्षहरूमा सेवा प्रवाहमा उल्लेखनीय सुधार ल्याएको उल्लेख गर्दै आगामी दिनमा विशेषज्ञ सेवा, आधुनिक प्रविधि र पूर्वाधार सुदृढीकरणमा अझै व्यापक लगानी गरिने जानकारी दिए। उनका अनुसार मेडिकल सेवा सहज, किफायती र पहुँचयोग्य बनाउने लक्ष्यसहित हस्पिटलले आफ्नो दीर्घकालीन कार्ययोजना अघि बढाइरहेको छ। सबै एजेन्डामाथि छलफल र अनुमोदनसहित कार्यक्रम समापन भएको हस्पिटलले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend