सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पोखरा स्टिल फेब्रिकेटर्स एसोसिएसनको २५औं वार्षिक साधारण सभा तथा १६औं अधिवेशन भव्य रुपमा सम्पन्न

पोखरा स्टिल फेब्रिकेटर्स एसोसिएसनको २५औं वार्षिक साधारण सभा तथा १६औं अधिवेशन भव्य रुपमा सम्पन्न

 

२२ कात्तिक,पोखरा । पोखरा स्टिल फेब्रिकेटर्स एसोसिएसनको २५औं वार्षिक साधारण सभा तथा १६औं अधिवेशन आज भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रमसँगै ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालको गण्डकी प्रदेश तदर्थ समिति पनि घोषणा गरिएको छ । देशभरका स्टील, ग्रिल र फेब्रिकेशन व्यवसायीहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा व्यवसायको वर्तमान अवस्था, आगामी सम्भावना र नीति-नियमगत सुधारका विषयमा गहिरो छलफल गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री हरि प्रसाद पाण्डेले उद्योग क्षेत्र राष्ट्रको मेरुदण्ड भएको भन्दै नेपालमा घरेलु उत्पादनमा आधारित उद्योगलाई राज्यले अझ बढी संरक्षण र प्रोत्साहन दिनुपर्ने बताउनुभयो । उहाँले स्टील र फेब्रिकेशन क्षेत्रले देशको निर्माण, रोजगारी र भौतिक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै यो क्षेत्रमा लगानी र प्राविधिक सुधार अपरिहार्य भएको उल्लेख गर्नुभयो ।

त्यसैगरी ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष ठुलो बाबु श्रेष्ठले देशको वर्तमान आर्थिक अवस्था अत्यन्तै जटिल मोडमा पुगेको बताउनुभयो । उहाँका अनुसार देशमा निर्माण क्षेत्रमा आएको मन्दी, लगानीमा घट्दो आत्मविश्वास, र सरकारको ढिलो नीति कार्यान्वयनले गर्दा ग्रिल र स्टील उद्योगहरू गम्भीर संकटमा परेका छन् । श्रेष्ठले भन्नुभयो, “देशमा पूँजी सुक्दै गएको छ, ठूला आयोजना ठप्प छन्, र निजी क्षेत्रलाई राज्यले सुन्ने समय आएको छैन । यस्तो अवस्थामा हामीले व्यवसायलाई जोगाएर अघि बढाउनु आफैंमा चुनौतीपूर्ण काम हो ।”

उहाँले व्यवसायीहरूले सरकारसँग बारम्बार माग गर्दा पनि स्टील उद्योगका समस्या समाधानका लागि ठोस कदम नचालिएको गुनासो गर्नुभयो । उहाँको भनाइमा, अहिले बजारमा स्टीलको मूल्य अस्थिर छ, माग घटेको छ, र बैंकहरूको ब्याजदर उच्च भएको कारण व्यवसायीहरू दोहोरो दबाबमा छन् । “एकातिर आर्थिक मन्दी, अर्कातिर करको बोझ — यस्तो अवस्थामा पनि हामीले रोजगार टिकाइरहेका छौं, यो नै हाम्रो देशप्रतिको योगदान हो,” उहाँले थप्नुभयो ।

श्रेष्ठले आगामी दिनमा स्टील तथा फेब्रिकेशन व्यवसायलाई आधुनिक प्रविधि, गुणस्तरीय उत्पादन र सहकारी एकताबाट अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अब हामीले टेवा दिने नीतिहरूका लागि सरकारसँग मात्र आशा राख्ने होइन, स्वावलम्बनको बाटो रोज्नुपर्छ । साना उद्यमीदेखि ठूला उद्योगीसम्म एकजुट भएर अघि बढ्न सके यो क्षेत्रले फेरि पनि देशको अर्थतन्त्रलाई उठाउन सक्छ।”

सो अवसरमा विभिन्न जिल्लाबाट आएका उद्योगी, व्यवसायी तथा संघसंस्थाका प्रतिनिधिहरूले पनि आफ्नो अनुभव र सुझाव साझा गरेका थिए । उनीहरूले कर प्रणाली सरल बनाउन, वैदेशिक लगानीमैत्री नीति ल्याउन र स्थानीय सरकारहरूमार्फत साना उद्योगका लागि विशेष सहुलियत कार्यक्रम सञ्चालन गर्न सरकारलाई आग्रह गरेका थिए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend